काठमाडौं । अल ह्वील ड्राइभ कारमा मोटर पावर धेरै हुने भएकाले कर धेरै लाग्ने र मूल्य महंगो पर्छ । महंगो मूल्य पर्ने भएसँगै यसलाई किन्न चाहने ग्राहकको संख्या पनि कम छन् ।
सुरुमा कुनै पनि कम्पनीले अल ह्वील ड्राइभ इलेक्ट्रीक कार नेपाल नल्याएपनि बिस्तारै धेरै कम्पनीले ल्याउन थालेका छन् । पावर र पर्फमेन्स चाहने उपभोक्ताको रोजाईमा पर्ने अल ह्वील ड्राइभ विद्युतीय कार पहाडी क्षेत्रमा यात्रा गर्न उपयुक्त भएको कारण पनि धेरैले खोज्दैनन् ।
निकै लग्जरी फिचरको साथ आउने अल ह्वील ड्राइभ इलेक्ट्रीक कार कम ग्राउन्ड क्लियरेन्सको कारण कच्ची र पहाडी बाटाहरुमा चलाउन सकिदैन । यदि, अल ह्वील ड्राइभ नै भएको गाडी किन्दैछु भने हरेक स्थानमा चलाउन सक्नु पर्छ भन्ने मान्यताको कारण यसमा ग्राहक नै कम भएका हुन् ।
बीवाइडीले आफ्नो लग्जरी सेडान कार सीललाई अल ह्वील ड्राइभ सिस्टमको साथ उपलब्ध गराएको छ । सील अल ह्वील ड्राइभ मोडलमा अगाडि १६० र पछाडि २३० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । यी दुबै मोटरको संयुक्त पावर ३९० किलोवाट छ भने टर्क ६७० एनएम रहेको छ ।

बीवाइडीको आधिकारीक बिक्रेता साइमेक्स इंकले १ करोड ९५ लाख रुपैयाँ तोकेर अल ह्वील ड्राइभ सील बिक्री गर्दै आएको छ ।
जिकरले पनि अल ह्वील ड्राइभ जिकर एक्स नेपाली बजारमा बिक्री गर्दै आएको छ । यसमा अगाडि ११५ किलोवाट र पछाडि २०० किलोवाटको इलेक्ट्रीक मोटर पाउन सकिन्छ । दुबै मोटरको संयुक्त पावर ३१५ किलोवाट छ । यसको पीक टर्क ५४३ एनएम छ ।
पायोनियर मोटोकर्पले जिकर एक्स अल ह्वील ड्राइभको मूल्य १ करोड ५४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।
यी दुई मोडलका अलावा अन्य ब्राण्डले अल ह्वील ड्राइभ मोडल उपलब्ध गराएका छैनन् । तर, चाँडै जेको जे-६ र रेडारा आरडी-६ मोडल अल ह्वील ड्राइभ भर्सनमा बजारमा आउने छन् । यी दुई मोडल थप भएसँगै बजारमा फोर ह्वील ड्राइभ कारको संख्या बढ्ने छ ।
रेडारा पीकअप र लाइफ स्टाइल एसयूभी जेको जे-६ को अल ह्वील ड्राइभ मोडलको मूल्य कति पर्छ अहिल्यै एकिन साथ भन्न सकिने अवस्था छैन ।


