पेट्रोल कार र इलेक्ट्रीक कारमा आगलागी भए कुन धेरै खतरा ?

काठमाडौं । आगलागी हुनु आफैंमा धेरै जोखिमपूर्ण हुन्छ । नेपालमा आगलागीको घटना एकदमै धेरै भएपनि थोरै गाडी भएको कारण सवारीसाधनमा हुने आगलागीको घटना एकदमै कम सुनिन्छ ।

कार बजार विश्वभर उथलपुथल भइरहेको छ । सयौं वर्ष इन्टरनल कम्बस्चन इन्जिनले एकछत्र राज गरेको बजारमा न्यू इनर्जी भेहिकलको उत्पादन र प्रयोग बढ्न थालेसँगै हरेक कोणबाट कुन उपयुक्त भन्ने बहष विश्वभर चलिरहेको छ ।

यस्तै बहष आगलागीको घटनामा हुनु स्वभाविक हो ।इलेक्ट्रिक गाडी र कम्बस्चन इन्जिन भएका गाडीहरू बीच आगलागीको जोखिम र गम्भीरतामा धेरै भिन्नता रहेको पाइन्छ । अनुसन्धानबाट बाहिर आएका रिपोर्टहरुले यी दुई प्रकारका सवारीसाधनमा हुने आगलागी सम्बन्धी जोखिममा केही ठूला अन्तर देखाएका छन् ।

१. आगालागी सम्भाव्यता

विद्युतीय गाडीमा आगलागीको सम्भावना निकै कम हुन्छ । किनभने विद्युतीय साधनमा सामान्यत कम्बस्चन इन्जिन गाडीमा जस्तो इन्धन ट्याङ्क हुँदैन ।

विद्युतीय साधनमा लिथियम आयोन ब्याट्री हुन्छन् । यस्ता ब्याट्रीमा ‘थर्मल रनअवे’ हुने सम्भावना रहन्छ । थर्मल रनअवे ब्याट्रीमा भएको रसायन लिक हुने प्रक्रिया भनिन्छ, यसरी रसायन लिक हुँदा आगो लाग्न सक्छ । निकै विरलै यस्ता घटना भएपनि आगलागी भएकै खण्डमा निभाउन भने निकै कठिन हुन्छ ।

२. ताप र ऊर्जा उत्सर्जन

विद्युतीय साधनको ब्याट्रीबाट आगलागीको समयमा अत्यधिक ताप र ऊर्जा निस्कन्छ । एउटा ९० किलोवाट आवर क्षमताको ब्याट्री प्रयोग भएको गाडीमा आगो लाग्दा लगभग २.३ गिगाजुल ऊर्जा उत्सर्जन हुन्छ । जुन समान दायरा भएको कम्बस्चन इन्जिन गाडीको पेट्रोल जल्दा निस्कने ऊर्जा भन्दा लगभग दोब्बर बढी हो ।

३. ताप उत्पत्ति र नियन्त्रण

कम्बस्चन इन्जिन गाडीमा इन्धन ट्याङ्कबाट आगो लाग्दा इन्धनको मात्रा घट्दै जाँदा तापक्रम पनि घट्दै जान्छ । तर, इलेक्ट्रीक साधनमा भएको ब्याट्रीमा आगलागी हुँदा तापक्रम घट्न कठिन हुन्छ । त्यसको मुख्य कारण ब्याट्रीको सम्पूर्ण तौल स्थिर रहँदा तापक्रम घट्दैन ।

४. विषाक्त ग्यास उत्सर्जन

ब्याट्रीमा आगो लाग्दा कार्बन मोनोअक्साइड, हाइड्रोजन फ्लोराइड जस्ता विषाक्त ग्यासहरू उत्सर्जन हुन्छन् । अनुसन्धानले देखाए अनुसार ब्याट्रीमा आगलागी हुँदा हाइड्रोजन फ्लोराइड उत्सर्जन पेट्रोलको तुलनामा लगभग दोब्बर हुन्छ । यसरी निस्कने हाइड्रोजन फ्लोराइड अत्यन्तै हानिकारक हुन्छ ।

५. सुरक्षा चुनौति

विद्युतीय साधनमा लागेको आगो निभाउन कम्बस्चन इन्जिन गाडीको भन्दा धेरै ठूलो मात्रामा पानी वा फोम आवश्यक पर्छ । एक पटक आगो निभाएपछि पनि विद्युतीय साधनमा तत्कालै पुनः प्रज्वलन हुनसक्ने जोखिम हुँदा आगो निभाइसकेपछि पनि ठूलो मात्रामा आगो निभाउने सामग्री राख्नु पर्छ ।

अन्त्यमा, इलेक्ट्रीक गाडीमा कम आगलागीको सम्भावना रहन्छ । पेट्रोल कारको तुलनामा ईभीमा आगलागीका घटना पनि कम हुन्छन् । साथै, प्रदूषण कम गर्न र हाम्रै इन्धनको प्रयोग गर्ने हुँदा यस्ता साधन नेपालको लागि किफायती पनि छन् । सरकारले लगाएको कम करको कारण महंगो टेक्नोलोजी भएका साधन कम मूल्यमा किन्न पाइएको पनि छ । तर, भवितब्य परेर आगलागी भएको खण्डमा त्यसको नियन्त्रण कसरी गर्ने भन्ने विषयमा सरकार, बिक्रेता र उपभोक्ता कसैले पनि तयारी गरेका छैनन् ।

लेखक निर्जल लामिछाने मेकानिकल इन्जिनियर हुन् ।


Back_to_top