बाहिरी चक्रपथ बिस्तार डेडलाइन माघ १५, होला काम सुरु ? यस्तो छ तयारी

काठमाडौं । बहु–प्रतिक्षित बाहिरी चक्रपथ विस्तार आयोजना अलपत्र बनेको छ । उपत्यकालाई व्यवस्थित बनाउने भन्दै उपत्यका विकास प्राधिकरणले बनाउन लागेको यो सडकखन्डको काम लामो समयदेखि सुरु हुने भनिएपनि अझै सुरु हुन सकेको छैन । 

उपत्यका विकास प्राधिकरणले आगामी माघ १५ गतेसम्म मन्त्रीपरिषदबाट स्विकृत गर्ने गरि काम गरिरहेको जनाएको छ । मन्त्रीपरिषदबाट अनुमोदन नभएसम्म बाहिरी चक्रपथ निर्माणको काम अगाडि बढ्न सक्दैन ।

काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रवक्ता केशवप्रसाद न्यौपानेकाअनुसार कुल ७२ किलोमिटर सडकखन्डमध्ये पहिलो चरणमा चोभारदेखि गाम्चाहुँदै सतुङ्गलसम्मको ६ दशमलब ६ किलोमिटरको काम सुरु गर्न लागिएको थियो ।

हालसम्म जम्मा ८ वटा सडकखन्डको डीपीआर भैसकेको छ भने, दुईवटा सडकखन्डको डीपीआर हुन बाँकी रहेको छ ।

गत वैशाख ४ गतेको मन्त्रिपरिषद्को बैठकबाट पहिलो खण्डको विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) पनि स्वीकृत भइसकेको छ । प्राधिकरणले अहिले पहिलो चरणको सडकखन्ड निर्माणका लागि सहरी विकास मन्त्रालयमा कार्ययोजनासमेत पेश गरिसकेको जनाएको छ । 

प्रवक्ता न्यौपानेले उक्त फाइललाई मन्त्रीपरिषद् बैठकले स्वीकृत गरेपछिमात्रै आफूहरूले काम सुरु गर्ने मेरोअटोलाई बताए । उनकाअनुसार मन्त्रालयले उक्त फाइल क्याविनेटमा पेश गर्नुपर्नेमा त्यो काम नै अहिलेसम्म हुनसकेको छैन । 

‘क्याविनेटले उक्त कार्ययोजना स्वीकृत गरेपछि हामी काम सुरु गर्छौं,’ न्यौपानेले भने । उनले भने, ‘माघ १५ सम्ममा मन्त्रीपरिषद् बैठकले यसबारे निर्णय लिन सक्यो भने हामी त्यसपछि प्रक्रियाअनुसार काम सुरु गर्छौं ।’

मन्त्रीपरिषद्को निर्णयपछि बाहिरी चक्रपथ निर्माणका लागि जग्गाप्राप्ति, जग्गा अधिग्रहणलगायतका काम सुरु गर्ने प्राधिकरणको तयारी रहेको छ । प्रवक्ता न्यौपानेकाअनुसार काम सुरु भएको पाँच वर्षभित्रमा मोटामोटी काम सक्ने गरी काम अघि बढ्नेछ । 

यी सडकको डीपीआर भएकै छैन ?

उपत्यका विकास प्राधिकरणले निर्माण गर्न लागेको कुल ७२ किलोमिटर लामो बाहिरी चक्रपथको विभिन्न सडकखन्डको विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) हुन नै बाँकी रहेको छ । प्रवक्ता न्यौपानेकाअनुसार यी सडकखन्डमध्ये हालसम्म जम्मा ८ वटा सडकखन्डको डीपीआर भैसकेको छ भने, दुईवटा सडकखन्डको डीपीआर हुन बाँकी रहेको छ ।

प्राधिकरणकाअनुसार काठमाडौं जिल्लाभित्रका ६.६ किलोमिटर लम्बाईमा रहेको चोभार–सतुङ्गल सडकखन्डको डीपीआर भैसकेको छ । त्यस्तै, १०.९२ किलोमिटर लम्बाई भएको सतुङ्गल–पैयाँटर सडकखन्ड, ६.० किलोमिटर लम्बाईको पैयाँटार खड्का भद्रकाली सडकखन्ड, ३.९६ किलोमिटरको सनडोल–नयाँपाटी–थलीडाँछी सडकखन्डको डीपीआर तयार भएको छ । त्यस्तै, ६.५ किलोमिटर लम्बाई भएको खड्का–भद्रकाली–सनडोल खन्डको भने डीपीआर हुन बाँकी रहेको छ ।

कुल ५.० किलोमिटर लम्बाईको लुभु–हरिसिद्धि खन्ड र ८.९९ किलोमिटरको हरिसिद्धि–खोकना खन्डको डीपीआर तयार भएको छ ।  

त्यस्तै, भक्तपुर जिल्लाभित्रको कुल ३ सडकखन्डमध्ये २ वटाको डीपीआर भैसकेको छ । प्राधिकरणकाअनुसार ९.५१२ किलोमिटरको थली–डाँछी–भातेढिकुरो सडकखन्ड, अरनिको राजमार्गमा पर्ने ३.५ किलोमिटरको दधिकोट–सिरुटार सडकखन्डको डीपीआर तयार भएको छ । तर, ५.६ किलोमिटर लम्बाईको भातेढिकुरो–अरनिको राजमार्ग–नयाँठिमी खन्डको डीपीआर बन्न बाँकी रहेको छ । 

ललितपुर जिल्लाभित्रमा पर्ने सबै सडकखन्डको डीपीआर भैसकेको छ । कुल ५.० किलोमिटर लम्बाईको लुभु–हरिसिद्धि खन्ड र ८.९९ किलोमिटरको हरिसिद्धि–खोकना खन्डको डीपीआर तयार भएको छ । 

यस्तो हुनेछ बाहिरी चक्रपथ

उपत्यका विकास प्राधिकरणले बनाउन लागेको बाहिरी चक्रपथले उपत्यकाका तीनवटै जिल्लालाई जोड्नेछ । यसकासाथै, अरनिको, त्रिभुवन राजपथ तथा पृथ्वी राजमार्गसँग पनि जोडिने यो सडकखन्ड ८ लेनको हुनेछ । सडकका दुवै भागमा साइकल ट्र्याक तथा ग्रीन बेल्टसहितको फूटपाथ र ५० मिटरको बाटो बन्नेछ । बाटोको दुवै भागमा २ सय ५०–२ सय ५० मिटरको जग्गा विकास योजना बन्ने छ । 

बाहिरी चक्रपथले सहरी तथा ग्रामीण क्षेत्रलाई प्रत्यक्ष जोड्नेछ । भने बहु–प्रतिक्षित काठमाडौं तराई द्रूतमार्ग पनि यही चक्रपथमा जोडिनेछ । 

प्राधिकरणकाअनुसार बाहिरी चक्रपथमा चारवटा फ्लाइओभर पनि बनाइनेछ । झन्डै १० वर्षमा सम्पन्न गर्ने योजनामा रहेको बाहिरी चक्रपथ निर्माणका लागि करिब ६८ अर्ब रुपैयाँ लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । 

बाहिरी चक्रपथः फाइदै–फाइदा

आधुनिक, व्यवस्थित सहरीकरण तथा ग्रीनसिटीको रुपमा बाहिरी चक्रपथ कोषेढुङ्गा सावित हुने प्राधिकरणको दावी छ । त्यस्तै, उपत्यकाभित्रको अव्यवस्थित सवारी चापलाई नियन्त्रण गर्नका लागि बाहिरी चक्रपथले महत्वपूर्ण भूमिका खेल्नेछ । प्राधिकरणकाअनुसार बाहिरी चक्रपथले सहरी तथा ग्रामीण क्षेत्रलाई प्रत्यक्ष जोड्नेछ । भने बहु–प्रतिक्षित काठमाडौं तराई द्रूतमार्ग पनि यही चक्रपथमा जोडिनेछ । 

त्यस्तै, उपत्यकाभित्रका चोक–चोकमा देखिने सवारी जामको समस्या पनि बाहिरी चक्रपथको निर्माणपछि कम हुनेछ भने पैदलयात्रीहरूका लागि पनि सहज हुने अनुमान गरिएको छ । 


Back_to_top