युरोपियन कम्पनी प्रवेशपछि चम्केको चिनियाँ ब्राण्ड

काठमाडौं । युरोपियन कम्पनी स्टेलान्टिसको प्रवेशसँगै चिनियाँ स्टार्टअप कम्पनी लीप मोटर्सको व्यापार चम्केको छ । चीन, युरोप र एशियाली देशमा बिक्री राम्रो भएसँगै लीप मोटर्सले उत्पादन बढाएको हो ।

सन् २०२४ को तेस्रो त्रैमासमा ८६ हजार १६५ युनिट कार बिक्री गरेको लीप मोटर्सले अघिल्लो क्वाटरको तुलनामा ६१.७ प्रतिशतले उत्पादन र बिक्री बढाएको हो । कम्पनीले २०२४ को तीन त्रैमासमा १ लाख ७२ हजार ८६१ युनिट कार बिक्री भएको जनाएको छ । यो अघिल्लो वर्षको साेही अवधिकाे तुलनामा ९४.६ प्रतिशतले बढी हो ।

स्टेलान्टिसका अनुसार अक्टोबरमा ४० हजार कार बुकिङ पाएको लीपले ३८ हजार १७७ युनिट डेलिभरी दिएको हो । कम्पनीले सन् २०२४ को अन्तिमसम्ममा २ लाख ५० हजार युनिट कार बिक्री गर्ने अपेक्षा गरेको छ ।

स्टेलान्टिसको प्रवेशपछि लीप मोटर्सले जुलाई महिनामा २२ हजार ९३, अगष्टमा ३० हजार ३०५ युनिट, सेप्टेम्बरमा ३३ हजार ७६७ युनिट र अक्टोबरमा ३८ हजार १७७ युनिट उत्पादन र बिक्री गरेको हो । कम्पनीले हरेक महिना उत्पादन बढाउँदै लगेको छ ।

लीप मोटर्सले अक्टोबर १७ तारिखमा ५ लाख युनिट उत्पादन पूरा भएको जनाएको थियो । कम्पनीको उत्पादन र बिक्री बढेसँगै कुल आय ७४.३ प्रतिशतले बढेर १.३६ बिलियन अमेरिकी डलर पुगेको छ । कम्पनीको खुद नाफा पनि ८ प्रतिशतले वृद्धि भएको छ ।

यसका बाबजूद पनि कम्पनीको संचालन घाटा ९५ मिलियन अमेरिकी डलर रहेको छ । आगामी वर्ष भने कम्पनी संचालन मुनाफामा जाने अनुमान गरिएको छ ।


Back_to_top