काठमाडौं । साइमेक्स इंक प्रालिले बीवाइडी एम-६ मोडल चाँडै बिक्री सुरु गर्ने भएको छ । कम्पनीले डिसेम्बर महिनाबाटै नयाँ मोडल बिक्री थाल्ने भएको हो ।
सात सिट क्षमतामा उपलब्ध हुने एम-६ दुई ब्याट्री अप्सनमा आउन लागेको हो । यसलाई कम्पनीले ५५.४ किलोवाट आवर र ७१.८ किलोवाट आवर क्षमताको दुई ब्याट्री अप्सनमा बिक्री गर्दैछ ।
कम्पनीले सानो ५५.४ किलोवाट आवर क्षमताको मोटर भएको भेरियन्टको मूल्य ५५ लाख तोकेर आयात गरेको हो भने ठूलो ब्याट्री भएको एम-६ को मूल्य ६० लाख १५ हजार रुपैयाँ राखिएको छ । बजारमा बिक्री थाल्दा यो मूल्य फरक पनि हुन सक्छ । यसमा १०० किलोवाट क्षमताको मोटर रहेको छ ।
यसअघि नेपाली बजारमा उपलब्ध अल न्यू इ-६ जस्तै लुक्समा रहेको एम-६ मा ७ जनाले यात्रा गर्न सक्नेछन् । विशेषगरी टुरिजम सेक्टर र ठूलो परिवार भएका उपभोक्ताको रोजाइमा पर्न सक्ने यो मोडलले कस्तो ब्यापार गर्छ, त्यो हेर्न भने अझै केही समय कुर्नु पर्ने हुन्छ ।

