जगदम्बा मोटर्सले ल्यायो ‘इ-लाइट’ इलेक्ट्रीक कार, कति पर्ला मूल्य ?

काठमाडौं । जगदम्बा मोटर्सले पहिलो इलेक्ट्रीक कार नेपाल ल्याएको छ । अहिले रसुवागढी भन्सार याडमा आइपुगेको जेएमसी मोटर्सको इ-लाइट कार केही दिन भित्रै काठमाडौं आउन लागेको हो ।

जाइलिङ मोटर्स कर्पोरेशनको इलेक्ट्रीक सेडान कार निकै आकर्षक लुक्समा देखिएको छ । कम्पनी स्रोतका अनुसार केही दिन भित्रै यसको काठमाडौंमा बिक्री सुरु हुनेछ ।

‘अहिले गाडी भन्सार आइपुगेको हो । यसको मूल्य लगायतका विषय टुङ्गो लागेको छैन । केही दिनमै औपचारीक लन्च गर्ने योजना छ’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

स्टील र आल्मुनियम मिलाएर निकै हलुका बढी निर्माण भएको ‘इ-लाइट’ मोडल सुरक्षाको हिसावले अब्बल रहेको जेएमसीको दावी छ । फ्रन्ट ह्वील ड्राइभ मोटरमा उपलब्ध हुने कार हेर्दा निकै आकर्षक छ ।

सिल्भर हुक एलइडी हेडलाइट, कनेक्टेड इलेक्ट्रीक डोर ह्याण्डल, क्लोजअफ ग्रिल, एलइडी डेटाइम रनिङ लाइट र अगाडि दिइएको स्टाइलिस एयर ड्यामले यसले आकर्षक बनाएको छ ।

इ-लाइट सेडान कार हो । यसको लम्बाइ ४६७५ एमएम, चौडाइ १८३५ एमएम र उचाइ १४८० एमएम छ । १७ इन्चको आल्मुनियम अलोय ह्वील दिइएको कारमा ४९ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ । यसले सिंगल चार्जमा ४०० किलोमिटर रेन्ज दिने डब्लूएलटीपीले प्रमाणित गरेको छ । चीनमा ११० किलोवाट क्षमताको मोटरमा उपलब्ध इ-लाइट मोडल नेपालमा कुन मोटरमा उपलब्ध हुन्छ एकिन जानकारी बाहिर आएको छैन ।

अगाडि म्याकफर्सनको इन्डिपेन्डेन्ट सस्पेन्स प्रयोग भएको कारमा पछाडि मल्टी लिंक इनडिपेन्डेन्ट सस्पेन्स उपलब्ध छ । आधुनिक सुरक्षा फिचर उपलब्ध कारको इन्टेरियर पनि निकै आकर्षक छ ।

कम्पनीले यसमा १०.२५ र १२.३ इन्चको पानारोमिक एचडी ड्यूल स्कृन दिएको छ । ३६० डिग्री क्यामेरा पनि यसमा पाउन सकिन्छ । कम्पनीले नयाँ कारको मूल्य एकिन नगरेपनि ५० लाख हाराहारीमा बिक्री सुरु गर्ने अनुमान गर्न सकिन्छ ।


Back_to_top