काठमाडौं । विद्युतीय कारको प्रयोग बढेसँगै कस्तो र कुन कम्पनीको गाडी किन्दा ठिक हुन्छ भनेर जिज्ञासा राख्ने धेरै भेटिन्छन् । चिनियाँ ब्राण्डका करिब दुई दर्जन बढी मोडल अहिले नेपाली बजारमा किन्न पाइन्छ ।
यसका अलावा फ्रेन्च, कोरियन, जर्मन, अमेरिकन लगायत ब्राण्डका विद्युतीय साधन पनि नेपाली बजारमा किन्न पाइन्छ । विद्युतीय गाडीमा भएका हाइ भोल्टेज ब्याट्रीको निश्चित आयु हुन्छ । तर, त्यसलाई मिलाएर चलाउन सकेको खण्डमा आयु लम्ब्याउन सकिने विभिन्न अध्ययनले देखाएको छ ।
विद्युतीय गाडी किन्दा केही कुरा र चलाउँदा केही कुरामा विशेष ध्यान दिन सकेको खण्डमा ईभीमा भएको ब्याट्रीको लाइफ लामो हुनसक्छ । यीनै कुराहरुलाई हामीले यहाँ प्रस्तुत गरेका छौं ।
१. एड्भान्स ब्याट्री टेक्नोलोजी: हाइ भोल्टेज ब्याट्री विभिन्न प्रकारका छन् । अझ नयाँ टेक्नोलोजीको खोज ब्याट्रीको क्षेत्रमा तिब्र गतिमा विस्तार भइरहेको छ । एलएफपी, एनसीएम, टर्नरी, आइरन जस्ता शब्दहरु ब्याट्री टेक्नोलोजीसँग जोडिएर आउने गर्छन् ।
ब्याट्रीको बनोट, सेफ्टी लेयर र डिजाइन प्रिन्सिपलले पनि ब्याट्रीको गुणस्तरलाई झल्काउँछ । त्यसैले तपाईले किन्ने कारमा रहेको ब्याट्री कस्तो हो भनेर किन्दा पछि दुःख पाउनु पर्दैन ।
२. कुशल ब्याट्री मेनेजमेन्ट सिस्टमः विद्युतीय साधनको लागि चाहिने ब्याट्री मेनेजमेन्ट सिस्टम गतिलो भएन भने निकै ठूलो समस्या झेल्नु पर्ने हुन्छ । विशेषगरी ब्याट्री र मोटर बीचको सहि ब्यवस्थापन गर्ने मेनेजमेन्ट सिस्टमको बारेमा जानकारी राख्नुपर्छ । यसैको सहायताले ब्याट्री हेल्थलाई चुस्त राख्न सकिन्छ ।
३. नियमित मर्मत सम्भारः गाडीको नियमित चेकअप गर्ने र सहि समयमा मर्मत सम्भार गर्ने हो भने हुन सक्ने आर्थिक क्षतीलाई न्यूनिकरण गर्न सकिन्छ । विद्युतीय गाडीमा रहेको ब्याट्री हेल्थ, बीएमएस सिस्टमको अवस्था र मोटर पर्फमेन्सलाई जहिल्यै प्राथमिकतामा राखेर परीक्षण गर्नु पर्छ ।
४. चालकको ड्राइभिङ शैलीः विद्युतीय गाडीमा भएको ब्याट्रीलाई कसरी प्रयोग गर्ने भन्ने विषय चालकको आनीवानीसँग जोडिएको हुन्छ । चालकले स्मुद गाडी चलाउने, चार्जिङ मिलाएर गर्ने तथा ब्याट्रीको हेरचाह सहि तरिकाले गर्ने हो भने ब्याट्री लाइफ निकै राम्रो बनाउन सकिन्छ ।