काठमाडौं । यूरोपियन ग्रुप स्टेलान्टीसको प्रबेशसँगै आक्रमक बजार बिस्तारमा लागेको लीप मोटर्सले नयाँ एसयूभी ‘बी-१०’ ल्याउने पक्का भएको छ । नयाँ आउने एसयूभी रेन्ज र मूल्यको कारण अब्बल हुने चर्चा सुरु भएको हो ।
यसअघि फ्रान्समा भएको ‘पेरिस अटो शो २०२४’मा देखाएको बी-१० एसयूभीलाई कम्पनीले चीनको ग्वान्झाओ अटो शोमा पनि प्रदर्शनी गरेको हो । कम्पनीले सन् २०२५ को पहिलो क्वाटरबाटै बी-१० एसयूभीको बिक्री थाल्ने योजना सार्वजनिक गरेको छ ।
‘लीप ३.५ आर्किटेक्चर’मा बी-१० कम्पनीको पहिलो बी-सेग्मेन्ट एसयूभी मोडल हो । बी सेग्मेन्ट एसयूभी संसारभर सर्वाधिक बिक्री हुनेमा पर्छ । यस्तो बी-१० एसयूभीले यूरोप र एशियाली बजारमा राम्रो हिस्सा पाउने अनुमान गरिएको छ ।
आधुनिक फिचरले भरीपूर्ण हुने एसयूभीले सिंगल चार्जमा ६०० किलोमिटर रेन्ज दिने बताइन्छ । साथै, यसको मूल्य पनि केबल १३ हजार ४८० डलरबाट सुरु हुनेछ ।
लीप मोटर्सले बी-१० एसयूभीको ककपीटमा क्वालकमको स्न्यापड्रागन ८२९५ चीप प्रयोग गरेको छ । इन्टेलिन्ट ड्राइभिङ सिस्टमसहित आउने बी-१० एसयूभीले लीप मोटर्सको बिक्रीलाई थप उचाईमा लग्ने कम्पनीले दावी गरेको छ ।
नेपाली बजारमा पनि लिप मोटर्सका उत्पादन साँग्रिला मोटर्सले बिक्री वितरण गर्दै आएको छ । केही दिन अघिबाट पहिलो मोडल ‘सी-१०’ एसयूभीको बिक्री सुरु भएको छ । यस्तोमा कम्पनीको बी-१० एसयूभी पनि नेपाल ल्याउने सहजै अनुमान लगाउन सकिन्छ ।

