काठमाडौं । महिन्द्राले आगामी मंगलबार सार्वजनिक गर्ने बीई ६ई र एक्सईभी ९ ई इलेक्ट्रीक एसयूभीको ब्याट्रीको डिटेल्स सार्वजनिक भएको छ । महिन्द्राले वर्न इलेक्ट्रीक प्ल्याटफर्म इनग्लोमा बनेको यी एसयूभीहरू नोभेम्बर २६ मा सार्वजनिक हुने भएको हो ।
महिन्द्राले बीई ६ ई र एक्सयूभी ९ ई मा ५९ किलोवाट आवर तथा ७९ किलोवाट आवरको ब्याट्रीप्याक दिने भएको हो । लिथियम आयोन फस्फेट केमेस्ट्री रहेको यो ब्याट्री प्याकले १७५ किलोवाट सम्मको डीसी फास्ट चार्जर सपोर्ट गर्छ ।
महिन्द्राका अनुसार यो ब्याट्री जम्मा २० मिनेटमा २० बाट ८० प्रतिशत चार्ज हुन्छ । कम्पनीले यी एसयूभीको रेन्जका बारेमा आधिकारिक जानकारी नदिए पनि ५०० किलोमिटरसम्मको हुने अनुमान गरिएको छ।

त्यस्तै, महिन्द्राले बीई ६ ई र एक्सईभी ९ ई को पावरटेनको डिटेल पनि सार्वजनिक गरेको छ । महिन्द्राले मोटर, इनभर्टर तथा ट्रास्मिसन सहितको कम्प्याक्ट थ्री इन वान पावरट्रेन दिएको छ । यो मोटरको आउटपुट २३१ हर्सपावर तथा २८६ हर्सपावर सम्म रहेको छ ।
महिन्द्राले यी एसयूभीहरूमा रियर माउण्टेड मोटर दिएको छ भने बीई ६ ई मा भने अलह्वील ड्राइभ अप्सन समेत हुने अनुमान गरिएको छ ।

महिन्द्राले अन्य जानकारीहरू विस्तारै सार्वजनिक गर्दै रहेको छ । महिन्द्राको यी इलेक्टीक एसयूभीमा फरक ड्राइभ मोड, सेमी एक्टिभ सस्पेन्सन सिस्टम तथा ब्रेक बाई वायर टेक्नलोजी समेत रहेको जानकारी यस अघि नै बाहिर ल्याइसकेको छ ।

