काठमाडौं । ट्रायम्फ नेपालले आफ्नो पहिलो औपचारिक मोटरसाइकल राइड सम्पन्न गरेको छ । कम्पनीले ‘ट्रायम्फ लिगेसी राइड’ नाम दिएको राइड बन्दीपुर पुगेर समापन भएको हो ।
ट्रायम्फ नेपालले आयोजना गरेको लिगेसी राइडमा २९ जना राइडहरू सहभागीता जनाएका थिए ।
काठमाडौंको नक्सालदेखि सुरू भएको यो राइड नुवाकोट, गल्छी, मुग्लिन हुँदै बन्दीपुर पुगेको थियो । बन्दीपुरमा गुरुङ समुदायले सांस्कृतिक नाचसहित राइडहरूको स्वागत गरेका थिए । राइडरहरुले सांस्कृतिक रुपमा समृद्ध बन्दीपुर गाउँ र बन्दीपुरका विभिन्न पर्यटकीय स्थलहरुको अवलोकन गरे ।
यो राइड कार्यक्रम मोटरसाइकल चलाउने मात्र नभइ स्थानीय व्यापार प्रवद्र्धन र आन्तरिक पर्यटन बिस्तारमा टेवा पुर्याउने लक्ष्यका साथ गरिएको बताउँदै ट्रायम्फ नेपालका प्रबन्धक सागर थापाले भने, ‘ट्रायम्फ लिगेसी राइडः बन्दीपुर एडिसन ट्राइम्फ मोटरसाइकल राइडरहरूको उत्सव मात्र नभई नेपालको बढ्दो मोटरसाइकल कल्चरको नयाँ यात्राको सुरुवात पनि हो ।’
ट्रायम्फ मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी हंशराज हुलाश चन्द एण्ड कम्पनीले एकै दिन २०० यूनिट मोटरसाइकल डेलिभरी गरेर केही समय अगाडि बिक्री सुरू गरेको थियो ।
ट्रायम्फ नेपालले दुई मोडलका मोटरसाइकल बिक्री गर्दै आएको छ । छोटो समयमा नै कम्पनीले राम्रो ब्यापार गर्न सफल भएको छ । कम्पनीले ४०० सीसी सेग्मेन्टमा ट्रायम्फ स्पीड ४०० को मूल्य ६ लाख ३९ हजार ९०० रुपैयाँ र स्क्रयाम्बलर ४०० एक्सको मूल्य ६ लाख ८९ हजार ९०० रुपैयाँ तोकेर बिक्री गर्दै आएको छ ।

