काठमाडौं । नेपालका लागि हिरोको आधिकारिक बिक्रेता कम्पनी सिजी मोटर्सले १६० सीसी सेग्मेन्टमा नयाँ एक्स्ट्रीम १६० आर फोर भी मोटरसाइकल सार्वजनिक गरेको छ ।
कम्पनीले ल्याएको मोटरसाइकलले बजारमा १६० सीसी सेग्मेन्टमा रहेका चल्तीका मोडलसँग प्रतिस्पर्धा गर्नेछ । बजारमा रहेका थुप्रै प्रतिस्पर्धी मध्ये टीभीएस अपाचे आरटीआर १६० फोर भी मोटरसाइकसँग सिधा प्रतिस्पर्धा हुने देखिन्छ ।
यी दुई प्रतिस्पर्धीमा के कस्ता फिचर छन् र कुन मोटरसाइकल उत्कृष्ट भन्ने कुरा हामीले यहाँ केलाउन प्रयास गरेका छौं ।
डिजाइन
यी दुबै मोटरसाइकल नेकेड स्पोर्ट डिजाइनमा तयार भएका हुन् । मस्कुलर लुक्स सिधा ह्यान्डलबार, आकर्षक बडी ग्राफिक्स प्रयोग भएको कारण दुबैलाई सडकमा गुडाउँदा उत्कृष्ट देखिन्छ ।
इन्जिन
सिजी मोटर्सले सार्वजनिक गरेको एक्स्ट्रीम १६० आर फोर भीमा १६३.२ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्ब, ओएचसी, हेड÷आयल कूल्ड, एफआई, बीएस ६ इन्जिन छ । उक्त इन्जिनले अधिकतम १६.९ पीएस पावर र १४.६ एनएमको टर्क जेनेरेट गर्छ ।
टीभीएस आरटीआर १६० फोर भीमा कम्पनीले १५९.७ सीसीको सिंगल सिलिन्डर, फोर स्ट्रोक, फोर भल्ब, एयर असिस्ट आयल कूल्ड, एफआई, बीएस ६ इन्जिन दिएको छ । यस इन्जिनले अधिकतम १७.५५ पीएस पावर तथा १४.७३ एनएमको टर्क जेनेरेट गर्छ ।
पावरमा हल्का अगाडि टीभीएस अपाचे देखिन्छ । दुबै मोटरसाइकलमा ५ स्पीडको गियरबक्स दिइएको छ ।

पर्फर्मेन्स र माइलेज
टीभीएस अपाचे आरटीआरको टप स्पीड १२५ किलोमिटर प्रतिघण्टासम्म छ भने एक्स्ट्रीमको १२० किलोमिटर प्रतिघण्टा छ ।
दुबै मोटरसाइकलमा १२ लिटरको फ्युल ट्यांक पाउन सकिन्छ । कम्पनीले दाबी गरे अनुसार एक्स्ट्रीमले १ लिटर पेट्रोलले ४५ देखि ५० किलोमिटर माइलेज दिनेछ । अपाचे आरटीआरले ३५ देखि ४० किलोमिटरसम्म दिनेछ ।
सस्पेन्सन र टायर
एक्स्ट्रीम १६० आरमा अगाडि युएसडी फर्क र पछाडि ७ स्टेप एड्जस्टेवल मोनोसक सस्पेन्सन सेटअप दिइएको छ ।
टीभीएस अपाचे आरटीआरमा अगाडि टेलिस्कोपिक फर्क र पछाडि मोनोसक सस्पेन्सन सेटअप दिइएको छ ।
दुबै मोटरसाइकलमा ट्युवलेस टायर, डबल डिस्क ब्रेकसँगै सिंगल च्यानल एबीएस र अलोय ह्वील छ ।
फिचर
हिरोले एक्स्ट्रिम १६० मा एलइडी हेड्ल्याम्प तथा टेलल्याम्प, हाजार्ड लाइट, इन्भर्टेड एलसीडी इन्स्ट्रुमेन्ट क्लस्टर, कल एसएमएस अलर्ट सहितको कनेक्टिभिटी सिस्टम दिएको छ । साथै, स्प्लीट सिट डिजाइन, स्पोर्टी एग्जस्ट, ड्राग टाइमर, पिलियन ग्रयाब बार र साइड स्ट्यान्ड इन्जिन कटअफ जस्ता अत्याधिक फिचरहरु छन् ।
टीभीएसले आरटीआर १६० मा भेरियन्ट अनुसार फरक–फरक फिचरहरु दिएको छ । यसमा एन्ट हेड एलइडी हेडल्याम्प, डिआरएल, टेल ल्याम्प, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर दिएको छ ।
डिटेक्टेड इन्फो कन्ट्रोल स्वीच, मल्टिपल राइडिंग मोड, स्मार्ट कनेक्ट सिस्टम, स्टाइलिस ग्रयाव रेल, डबल ब्यारल एग्जस्ट र थ्री लेभलको एड्जस्टेवल ब्रेक र क्लच लिभर पाउन सकिन्छ ।
मूल्य
सिजी मोटर्सले हिरो एक्स्ट्रीम १६० आर फोर भी मोटरसाइकल ३ लाख ८४ हजार ९०० रुपैयाँ मूल्य निर्धारण गरेर बिक्री सुरु गरेको छ ।
टीभीएस अपाचे आरटीआर १६० फोर भी मोटरसाइकलको नेपाली बजारमा ५ भेरियन्ट उपलब्ध छ । जसको सुरुवाती मूल्य ३ लाख ३० हजार ९०० रहेको छ भने टप भेरियन्टको मूल्य ३ लाख ९६ हजार ९०० रुपैयाँ रहेको छ ।


