काठमाडौं । भारतमा एमजीसँग पार्टनरशीप गरेको जेएसडब्लू ग्रुपले कोरियन कम्पनी एलजी इनर्जी शोलुसनसँग मिलेर हाइ भोल्टेज ब्याट्री उत्पादन गर्ने योजना अगाडि सारेको समाचारहरु बाहिर आएका छन् ।
जेएसडब्लू र एलजी इनर्जी शोलुसनले इलेक्ट्रीक भेहिकल र रिन्यूएवल इनर्जी स्टोरेज उत्पादनका लागि १.५ बिलियन डलर लगानी गर्नेछन् । दुई कम्पनीले ५०/५० प्रतिशतको लगानीमा नयाँ संयुक्त कम्पनी स्थापना गर्ने विषयमा प्रारम्भिक सम्झौतामा हस्ताक्षर गरिसकेका छन् ।
यी दुई कम्पनी बीचको समझदारी अनुसार एलजी इनर्जी शोलुसनले ब्याट्री उत्पादनका लागि आवश्यक टेक्नोलोजी र इक्यूप्मेन्टमा ल्याउनेछ । अन्य कामको लागि आवश्यक नगद लगानी जेएसडब्लू ग्रुपले गर्नेछ ।
यी दुई कम्पनी मिलेर स्थापना गर्ने उद्योगले १० गिगावाट आवर क्षमता भएको प्लान्ट बनाउनेछन् । उक्त प्लान्टबाट ७० प्रतिशत ब्याट्री इनर्जी स्टोरेज र इलेक्ट्रीक भेहिकलको लागि उत्पादन हुनेछ ।
जेएसडब्लूले भारतमा आफ्नै ईभी ब्राण्डमा बस र ट्रक बनाउने तयारी गरिरहेको छ । अहिले एमजीसँग साझेदारीमा कार उत्पादन गर्दै आएको जेएसडब्लू ग्रुपले चाँडै आफ्नै ब्राण्डमा पनि कार ल्याउने जनाएको छ ।
कोरियन ब्याट्री निर्माता एलजी इनर्जी शोलुसनले अहिले पनि टेस्ला, जनरल मोटर, हुन्डाई जस्ता कम्पनीलाई ब्याट्री सप्लाइ गरिरहेको छ । भारतीय ब्राण्ड ओला र टीभीएस ब्राण्डले पनि एलजीकै ब्याट्री प्रयोग गरेर स्कुटर बनाइरहेका छन् ।


