साइज र डिजाइनले अब्बल ‘नेटा-एक्स’ (भिडियो रिभ्यू)

काठमाडौं । नेटा ब्राण्डमा दोस्रो मोडलको रूपमा आएको ‘नेटा एक्स’ आफ्नो साइज र डिजाइनको कारण निकै चर्चामा रहेको मोडल हो ।

सीजी मोटर्सले नाडा अटो शो २०२४ को अवसर पारेर बिक्री थालेको नेटा एक्स निकै ठूलो लाग्छ । बल्की डिजाइन, सार्प बडी प्रोफाइलको कारण यसले सडकमा अलगै छाप छाड्न सक्छ ।

‘योङ र स्पोर्टी’ नारासहित आएको नेटा-एक्स मूल्यको कारण पनि धेरैले एक पटक हेर्नै पर्ने एसयूभी हो । यसको मूल्य ५३ लाख ९९ हजार रुपैयाँदेखि नै सुरू हुन्छ ।

साइजमा निकै ठूलो र मूल्यमा सबैभन्दा कम भएको एसयूभीको रूपमा यसलाई लिन सकिन्छ । यसको लम्बाइ ४६१९ एमएम, चौडाइ १८६० एमएम र उचाइ १६२८ एमएम छ । २७७० एमएम लामो ह्वीलबेस र १८५ एमएम ग्राउन्ड क्लियरेन्स यसको बलियो पक्ष मानिन्छ ।

अहिले बजारमा यति ठूलो साइजको कुनै पनि एसयूभीको मूल्य यति कमबाट सुरू भएको पाउन सकिँदैन ।

एक्स्टेरियर

ईभीको ट्रेन्ड नै क्लोजअफ ग्रिल हो । हेडलाइटमा भने चिनियाँ निर्माताहरूले विभिन्न किसिमका प्रयोग गर्दै आएका छन् । यसमा पनि विल्कुलै नयाँ डिजाइनमा दिएको एलईडी प्रोजेक्टर हेडलाइट छ । हेडलाइटको ठ्याक्कै माथि दिएको ‘आइ ब्रो’ डिजाइनको एलईडी डे टाइम लाइटको कम्बिनेसन उत्कृष्ट छ । बोनेटको तल्लो भागमा दिइएको नेटाको लोगो र तल्लो बम्पर माथि दिइएको एयर ड्यामको कम्बिनेशन उत्कृष्ट छ ।

नेटाले आफ्नो एसयूभीमा धेरै स्थानमा क्रोमको प्रयोग गरेको छ । बडीको थुप्रै स्थानमा कट्सहरू पाउन सकिन्छ । ह्वील पनि १८ इन्चको पाउन सकिन्छ । अगाडि बोनेट भने ईभीमा जस्तो छोपिएको छैन । डेडिकेटेड ईभी प्लेटफर्ममा बनेको भए पनि अगाडिको भाग खुल्लै छ ।

पछाडि कनेक्टेड टेल लाइट, हाइ माउन्ट ब्रेक लाइट र तल्लो भागमा दिइएको रिफ्लेक्टर लाइटको कम्बिनेशस राम्रो छ । अगाडिको तुलनामा पछाडिको भाग निकै स्पोर्टी लाग्छ । ५०८ लिटर क्षमताको बुट स्पेश निकै ठूलो लाग्छ ।

ब्याट्री र मोटर

सीजी मोटर्सले नेटा एक्सलाई दुई ब्याट्री अप्सनमा ल्याएको छ । जसमा सर्ट रेन्ज भेरियन्टमा ५२ र ठूलोमा ६२ किलोवाट आवर क्षमताको ब्याट्री पाउन सकिन्छ । दुई ब्याट्रीमा १० किलोवाट आवरको भिन्नता पाउन सकिन्छ ।

ठूलो ब्याट्रीको अनरोड रेन्ज ४०० किलोमिटर हाराहारी रहने हाम्रो टेष्ट ड्राइभले देखाएको छ । दुवै भेरियन्टमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध हुनेछ ।

अन्य फिचर

सनरुफ, एडास फिचर, एबीएस, ६ एयरब्याग जस्ता फिचर यसमा समेटिएको छ । ड्यास बोर्डमा ८.९ इन्चको इन्स्ट्रुमेन्ट क्लष्टर, १५.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम दिइएको छ । लेदर सिटसँगै आधुनिक ईभीमा पाउन सकिने फिचरहरू यसमा पनि सहजै पाउन सकिन्छ ।

हाम्रो सिफारिस

यदि, तपाईंको प्रश्न यसको राम्रो कुरा के हो भन्ने हो भने हाम्रो सहज उत्तर हुन्छ । ठूलो र बल्की डिजाइन । त्योसँगै यसको रियर डिजाइन पनि उत्कृष्ट छ । बुट स्पेश र ग्राउन्ड क्लियरेन्स यही सेग्मेन्टमा बिक्री हुँदै आएका धेरै कारभन्दा राम्रो छ । साथै, रातिको समयमा पनि यसलाई हामीले चलाएर हेरकाले हेडलाइटको क्वालिटी राम्रो पायौं ।


Back_to_top