सीएटीएलले ल्यायो ‘चकलेट ब्याट्री’, यसरी गर्नेछ काम

काठमाडौं । विश्वको सबैभन्दा ठूलो हाइभाल्टेज ब्याट्री उत्पादक कम्पनी सीएटीएलले ब्याट्री स्वापिङको लागि दुई स्ट्याण्डड ब्याट्री ब्लक बनाउने घोषणा गरेको छ । उक्त ब्याट्री प्याकलाई ‘चकलेट’ नाम दिइएको हो ।

विद्युतीय साधनको ब्याट्री रिचार्ज गर्न लाग्ने समय बचाउन चीनमा ब्याट्री स्वापिङ टेक्नोलोजीको प्रयोग बढिरहेको छ । बढ्दो ट्रेन्ड पच्छाउँदै सीएटीएलले ब्याट्री स्वापिङमा प्रयोग हुने प्याक बनाउने भएको हो । एउटै स्ट्याण्डर्ड साइजको ब्याट्री प्याक भएपछि धेरै ब्राण्डका विभिन्न मोडलहरुले ब्याट्री स्वाप सुविधा प्रयोग गर्न सक्नेछन् ।

कम्पनीले २० र २५ ब्लक भएको ब्याट्री बनाउने छ । जसमा २० ब्लक भएको ब्याट्री ‘ए’ सेग्मेन्ट भेहिकलका लागि उपयुक्त हुनेछ । उक्त ब्याट्रीले ५०० किलोमिटर रेन्ज दिने सीएलटीसीले प्रमाणित गरेको छ । यसको प्रयोग साना सिटी कार र क्रसओभर मोडलहरुमा हुनेछ ।

त्यस्तै २५ ब्लक ब्याट्री ‘ए र बी’ सेग्मेन्टका इलेक्ट्रीक भेहिकलमा प्रयोग हुनेछन् । उक्त ब्याट्री प्याकले ६०० किलोमिटरसम्म रेन्ज दिनेछ ।

सीएटीएलका अनुसार २० ब्याट्री ब्लकमा ५२ किलोवाट आवरको एनएमसी र ४२ किलोवाट आवरको एलएफपी ब्याट्री उपलब्ध छ । २५ ब्लक भएको ब्याट्रीमा ७० किलोवाट आवरको एनएमसी र ५६ किलोवाट आवरको एलएफपी ब्याट्री अप्सन रहने छ ।

सीएटीएलले ब्याट्री ब्लक मात्र उत्पादन नगरी सन् २०२५ मा एक हजार स्थानमा ब्याट्री स्वाप स्टेशन समेत आफै निर्माण गर्ने योजना बनाएको छ । कम्पनीले आफ्नो पार्टनर कम्पनीहरु मार्फत थप १० हजार स्वापिङ स्टेशन बनाउने योजना अगाडि बढाएको हो ।

सीएटीएलले ल्याउने चकलेट स्वापेवल ब्याट्री प्याकमा आगामी वर्षसम्म १० वटा ईभी मोडल लन्च हुनेछ । जसमा जीएसी, चांगान, बीएआईसी, विलिङ र एफएडब्लूले आफ्ना उत्पादन बजारमा ल्याउने छन् ।


Back_to_top