काठमाडौं । अमेरिकी विद्युतीय कार उत्पादक टेस्लाको बजार पूँजीकरण (मार्केट क्यापिटालाइजेशन)का आधारमा विश्वकै ठूलो अटो कम्पनी बनेको छ । गत साता टेस्लाको पूँजीकरण हालसम्मकै धेरै १.४ ट्रिलियन डलर पुगेको हो ।
कम्पनिज मार्केट क्याप डटकमका अनुसार (डिसेम्बर १३) टेस्लाको बजार पूँजीकरण १.४ ट्रिलियन पुगेको हो । टेस्लाको बजार पूँजीकरण झण्डै विश्वका अरु ठूला २९ अटो उत्पादक कम्पनीहरूको बराबर नै हो ।
जबकि, विश्वका २९ ठूला अटोमोबाइल कम्पनीहरूको कुल बजार पूँजीकरण १.५ ट्रिलियन डलर छ । विश्वका विभिन्न सेयर बजारमा सूचीकृत ३० कम्पनीहरूको कुल बजार पूँजीकरण २.९ ट्रिलियन डलर छ ।
अमेरिकी नयाँ राष्ट्रपतिमा डोनाल्ड ट्रम्प विजयी भए यता टेस्लाको सेयर मूल्य लगातार बढ्दा बजार पूँजीकरण ह्वात्तै बढेको हो । पछिल्लो डेढ महिनामा मात्रै टेस्लाको सेयर मूल्य ९२ प्रतिशतले बढेको छ ।
गत नोभेम्बर ४ मा प्रतिकित्ता २४२ डलर रहेको टेस्लाको सेयर मूल्य डिसेम्बर १७ मा ४७९ डलरसम्म पुगेको थियो । यद्यपि, अन्तिम कारोबार मूल्य भने ४२१ डलर रहेको छ । डेढ महिना अघि करिब ९०० बिलियन रहेको टेस्लाको पूँजीकरण हाल १.४ ट्रिलियन पुगेको हो । यस अवधिमै टेस्लाको पूँजीकरण ५०० बिलियन बढेको हो । टेस्ला गत महिनामा मात्रै ट्रिलियन पूँजीकरण हुने विश्वकै पहिलो अटो कम्पनी बनेको थियो ।
व्यापार र नाफामा उल्लेख्य वृद्धि नभई ट्रम्पको उदयपछि लगातार सेयर मूल्य बढ्दा पूँजीकरणमा उछाल आएको हो । टेस्लाका मालिक इलन मस्क ट्रम्पको चुनावी कमाण्डर बनेका थिए ।
व्यापारमा भने टेस्ला अन्य कम्पनीभन्दा निकै पछि छ । सन् २०२३ मा टेस्लाले कुल १८ लाख कार बिक्री गरेको थियो । जबकि सोही वर्ष जापानी अटो उत्पादक टोयोटाले ११ करोड २ लाख युनिट सवारी साधन बिक्री गरेको थियो । त्यस्तै, बीवाइडीले ३० लाख युनिट कार बिक्री गरेको थियो ।
यी हुन् विश्वका ठूला अटो कम्पनी
बजार पूँजीकरणका आधारमा जापानी अटोमोबाइल्स कम्पनी टोयोटा दोस्रो स्थानमा रहेको छ । टोयोटाको बजार पूँजीकरण २३६ अर्ब डलर रहेको छ । टोयोटाको तुलनामा टेस्लाको पूँजीकरण ६ गुणा धेरै हाे ।

त्यस्तै, पछिल्लो समय आक्रमक रुपमा व्यवसाय विस्तार गरिरहेका चिनियाँ अटो उत्पादक बीवाइडी विश्वको तेस्रो ठूलो कम्पनी बनेको छ । टेस्लाको पूँजीकरण टोयोटाकोभन्दा आधा अर्थात् १०७ अर्ब डलर रहेको छ ।
त्यस्तै, अर्को चिनियाँ ब्राण्ड साओमी चौथो स्थानमा रहेको छ । साओमीको बजार पूँजीकरण १०१ अर्ब डलर रहेको छ । त्यसैगरी, फेरारी ८१ अर्ब डलर, मर्सीडेन्ज बेन्ज ६३ अर्ब डलर, पोर्से र जनरल मोटर्स समान ५८ अर्ब, बीएमडब्ल्यू ५१ अर्ब र फक्स वागेन ४८ अर्ब डलरसहित क्रमशः शीर्ष १० ठूला कम्पनी रहेका छन् ।
भारतीय अटो उत्पादक महिन्द्रा एण्ड महिन्द्रा पूँजीकरणका आधारमा विश्वको ११औं ठूलो कम्पनी बनेको छ । यसको पूँजीकरण ४४ अर्ब डलर छ । त्यस्तै, मारुती सुजुकी इन्डियाको ४२ अर्ब, फोर्ड र स्टेलान्टिस समान ४१ अर्ब, होण्डा ४० अर्ब, हुन्डाई ३७ अर्ब, टाटा मोटर्स ३५ अर्ब, एसएआइसी मोटर ३० अर्ब, किया, सेरेस ग्रुप र ग्रेट वाल मोटर्सको पूँजीकरण समान २७ अर्ब डलर रहको छ ।


