एमजीको नयाँ कारलाई १२ मिनेट चार्ज गर्दा ४०० किमी यात्रा

काठमाडौं । एमजी मोटर्सको स्वामित्व रहेको माउ कम्पनी एसएआईसी ग्रुपले १२ मिनेट चार्ज गर्दा ४०० किलोमिटर यात्रा गर्न सकिने कार ल्याउने भएको छ । कम्पनीले नयाँ आउने कारहरुमा सेमी सोलिड स्टेट ब्याट्री प्रयोग गर्ने भएसँगै चार्जिङ टाइम घट्ने र रेन्ज बढ्ने भएको हो ।

एसएआईसी ग्रुपले एल-६ सेडान कारमा १३३ किलोवाट आवरको सेमी सोलिड स्टेट ब्याट्री प्याक प्रयोग गरिसकेको छ । उक्त ब्याट्रीलाई फुल चार्जमा १००० किलोमिटर गुडाउन सकिने सीएलटीसीले प्रमाणित गरेको छ । कम्पनीले ८०० भोल्ट आर्किटेक्चरमा तयार पारेको कारले चार्जिङ स्पीड ४०० किलोवाट लिनेछ । त्यसैले यसलाई १२ मिनेट चार्ज गर्दा ४०० किलोमिटर गुडाउन सकिन्छ ।

अहिले निकै चर्चामा रहेको यही सेमी सोलिड स्टेट ब्याट्री आगामी वर्षबाट एमजी ब्राण्डका कारमा पनि उपलब्ध हुनेछन् । एमजी मोटर्सका जनरल मेनेजर झाओ युले चिनियाँ शोसल मिडिया वेबोको पोस्टमा सन् २०२५ मा लन्च हुने भेहिकलमा स्ट्याण्डर्ड रुपमै सबै गाडीमा सेमी सोलिड स्टेट ब्याट्री प्रयोग हुने उल्लेख गरेका हुन् ।

उनका अनुसार एमजीका कारमा सेमी सोलिड स्टेट ब्याट्री प्रयोग भएपनि मूल्यमा फरक पर्ने छैन । एसएआईसी ग्रुपले नै विकास गरेको उक्त ब्याट्री यसअघि एल-६ सेडान कारमा सफल प्रयोग भइसकेको छ ।

सन् २०२५ मा एमजीले चिनियाँ बजारमा २ नयाँ मोडल र २ फेसलिफ्ट मोडल ल्याउँदैछ । साथै, कम्पनीले डीएमएच प्लगइन हाइब्रिड पावर सिस्टमसमेत सन् २०२५ मै बजारमा ल्याउनेछ ।

एमजीका अनुसार सेमी सोलिड स्टेट ब्याट्री रेन्ज धेरै र चार्जिङ पर्फर्मेन्स राम्रो भएर आउन लागेको हो । नयाँ ब्याट्रीको इनर्जी डेन्सीटी ३०० वाटआवर प्रतिकेजीभन्दा माथि रहेको छ ।


Back_to_top