मल्टी मोड ट्रयाक्सन कन्ट्रोल भएको नयाँ एथर स्कुटर सार्वजनिक

काठमाडौं । दुई पाङग्रे इलेक्ट्रीक स्टार्टअप कम्पनी एथर इनर्जीले भारतीय बजारमा नयाँ स्कुटर सार्बजनिक गरेको छ । कम्पनीले बजारमा एथर ४५० एक्स स्कुटरको २०२५ अपडेटेड मोडल सार्वजनिक गरेको हो ।

कम्पनीले २०२५ एथर ४५० एक्स स्कुटरमा नयाँ फिचर थप गरेको छ । यसको रेन्जमा समेत सुधार गरिएको कम्पनीले जनाएको छ ।

नयाँ ४५० एक्समा राम्रो ग्रिपिङका लागि एमआरएफको टायर दिइएको छ । यसमा नयाँ फिचरको रुपमा म्याजिक ट्वीस्ट सुरक्षा फिचर दिइएको छ । म्याजिक ट्वीस्ट एउटा विशेष प्रकारको ब्रेकिङ सुबिधा हो । जसले स्कुटर थ्रोटल उल्टो घुमाउँदा ब्रेक लिबर नसमाते पनि स्कुटर रोक्ने काम गर्छ ।

साथै, यसमा मल्टि मोड ट्रयाक्सन कन्ट्रोल र एथर स्ट्याक ६ सफ्टवेयर सुबिधा पनि थपिएको छ ।

पुरानो मोडल एथर ४५० एक्स स्कुटरको २.९ किलोवाट भेरियन्टको रेन्ज ८५ किलोमिटर र ३.७ किलोवाट भेरियन्टको रेन्ज १०५ किलोमिटर रहेको थियो ।

२०२५ भेरियन्ट ४५० एक्स स्कुटरको रेन्ज अब २.९ किलोवाट भेरियन्टको १०५ किलोमिटर र ३.७ किलोवाट भेरियन्टको रेन्ज १३० किलोमिटर पाउन सकिन्छ । यस स्कुटरको टप स्पीड भने ९० किलोमिटर प्रतिघण्टा रहेको छ ।

भारतीय बजारमा नयाँ एथर ४५० एक्स २.९ किलोवाट भेरियन्टको मूल्य १ लाख ४७ हजार रुपैयाँ र ३.७ किलोवाट भेरियन्टको १ लाख ५७ हजार रुपैयाँ (एक्स शोरुम) निर्धारण गरिएको छ ।


Back_to_top