टेस्लाको पनि सबैभन्दा ठूलो बजार चीन, स्टक मूल्यमा भने अमेरिकामा उछाल

काठमाडौं । इलेक्ट्रीक भेहिकलको मातृभूमी मानिने चीनमा टेस्लाले गत वर्ष ६ लाख ५७ हजार युनिट इलेक्ट्रीक कार बिक्री गर्न सफल भयो । अमेरिकी कम्पनी टेस्लाको पनि सबैभन्दा धेरै कार बिक्री हुने देश चीन नै बनेको हो ।

सन् २०२४ को डिसेम्बरमा मात्रै टेस्लाले ८३ हजार युनिट विद्युतीय कार बिक्री गर्न सफल भयो । जुन टेस्लाको कुल बिक्रीको ३७ प्रतिशत हो । कम्पनीले गत वर्ष विश्वभर १७ लाख ८९ हजार २२६ युनिट विद्युतीय कार बिक्री गरेको थियो ।

टेस्लाको बिक्री अघिल्लो वर्षको भन्दा चिनियाँ बजारमा ८.८ प्रतिशतले बढेको हो । टेस्लाले सन् २०२३ मा चीनमा मात्रै ६ लाख ४ हजार कार बेचेको थियो । जबकी सन् २०२४ मा आफ्नो कुल बिक्री अघिल्लो वर्षको तुलनामा घट्दा पनि चीनमा भने बढेको हो ।

टेस्लाले चिनियाँ बजारमा बिक्री बढाएता पनि चीनबाट अन्तर्राष्ट्रिय बजारमा हुने निर्यात भने घटेको छ । सन् २०२३ मा टेस्लाको गिगा संघाइबाट ३ लाख ४४ हजार ७८ वटा कार निर्यात गरकोमा सन् २०२४ को १२ महिनामा २ लाख ५९ हजार ४८५ युनिट मात्रै निर्यात गरेको हो । निर्यात भने २४.६ प्रतिशतले घटेको हो ।

टेस्लाको गिगा संघाइ प्लान्टमा मोडल थ्री र मोडल वाई उत्पादन हुँदै आएको छ ।

स्टक प्राइसमा उछाल

टेस्लाको कुल उत्पादन र बिक्री दुबै घटेपनि सेयर मूल्यमा भने तिब्र उछाल आइरहेको छ । अमेरिकाको नयाँ राष्ट्रपतिमा डोनाल्ट ट्रम्प विजय भएसँगै टेस्लाको सेयर मूल्य आकाशिएको थियो ।

टेस्लाका सीईओ इलन मस्क अमेरिकी राष्ट्रपति निर्वाचनमा ट्रम्पको पक्षमा खुलेर लागेका थिए । ट्रम्पको विजयसँगै मस्कको कम्पनीको सेयरले रफ्तार लिएको थियो ।


Back_to_top