ईभीको सर्भिसमा चुक्दै कम्पनीहरु, महिनौ फेर्न सक्दैनन् ‘मोटर र ब्याट्री’

काठमाडौं । विद्युतीय कारको सर्भिस र पार्टस्को उपलब्धता टाउको दुखाई बन्दै गएको छ । गाडी ल्याएर बिक्री गर्ने कम्पनीहरु बढेपनि बिक्रीपछिको सेवामा ध्यान नदिँदा ईभी उपभोक्ता ठूलो मारमा पर्न थालेका हुन् ।

संख्यात्मक रूपमा धेरै गाडी बेच्ने कम्पनी होस् वा एकाध युनिट बिक्री गर्ने कम्पनी हुन्, उनिहरुले उपभोक्तालाई सहि तरिकाले सर्भिस दिन सकेका छैनन् । अझ, भारत बाहेकका देशबाट आयात हुने विद्युतीय साधनको सर्भिसमा ठूलो समस्या देखिन्छ ।

गाडी ल्याउन थालेसँगै उपभोक्ताले सहजै स्विकार गरिदिएका ब्राण्डको झनै बेहाल छ । त्यसको एक दृष्टान्त हामीले किया निरो बनाउन कम्पनीले लगाएको १९ महिना भन्दा धेरै समयको रिपोर्ट नै प्रकाशित गरेका थियौं । उक्त रिपोर्ट पढ्न तलकाे लिङ्क क्लिक गर्नुहोला ।

अहिले ईभी बिक्री गर्ने ब्राण्डहरुको संख्या नै दुई दर्जन बढी पुग्न लागेका छन् । उनिहरु अधिकांशको शोरुम छ, अझै सर्भिस सेन्टर छैन । वर्षामा डुवानमा परेका ईभीहरुको मर्मत अझै कम्पनीहरुले सकेका छैनन् । कति कम्पनीले ब्याट्री परिवर्तन गर्न सकेका छैनन् भने कतिले मोटर ल्याएर परिवर्तन गरेर दिन सकेका छैनन् ।

उपभोक्ताको चर्को गुनासो ईभी बिक्रेताहरुसँग रहन थालेको छ । प्रदेश संरचनासँगै यातायात कार्यालयहरु मार्फत धेरै कुरा नियन्त्रण गर्न थालिएको छ । त्यसले सरकारी कार्यालय र आधिकारीक बिक्रेताको सर्भिस सेन्टरको चक्कर लगाउनु पर्ने अवस्थामा उपभोक्ता पुगेका छन् ।

सवारी साधनमा मोटर र इन्जिन जस्ता कुरा परिवर्तन गर्नु परेमा यातायात कार्यालयको स्विकृति अनिर्वाय रुपमा चाहिन्छ । यसले पनि विद्युतीय साधन सर्भिस गर्न कठिन भएको बिक्रेताहरुको भनाइ छ ।

यातायात ब्यवस्था विभागका टेक्नीकल डाइरेक्टर श्रीकान्त यादवका अनुसार विद्युतीय गाडीको मोटर र इन्टरनल कम्बस्च इन्जिनका भएका गाडीको इन्जिन साधन दर्ता रहेको यातायात कार्यालयबाट स्विकृति लिएर मात्रै परिवर्तन गर्न पाइन्छ । तर, उक्त सामान स्विकृति पाएसँगै उपभोक्तालाई दिने कर्तब्य आयातकर्ताको हो ।

किन स्टक राख्दैनन् आयातकर्ता ?

विद्युतीय साधनमा सबैभन्दा महंगो नै ब्याट्री र मोटर हो । एउटा सामान्य गाडीको मोटर र ब्याट्री दुबै परिवर्तन गर्नु परेमा १८ देखि २० लाखसम्म खर्च हुन्छ । यस्तोमा ठूलो संख्यामा सामान स्टक राख्दा संचालन खर्च नै महंगो पर्न जाने बिक्रेताहरुको भनाइ छ ।

अर्को, मोटर मात्रै परिवर्तन गर्दा पनि ब्राण्ड हेरेर ६ देखि १० लाखसम्म पर्ने भएकाले समस्या आएपछि मात्रै सामान मगाउने गरिन्छ । त्यसैले उपभोक्ताले लामो समय कुर्नु पर्ने अवस्था सृजना भएको ब्यवसायीहरु नै बताउँछन् ।


Back_to_top