प्रोटोन इमास-७ मा ‘एजिस सर्ट ब्लेड ब्याट्री’, तान्ला नेपाली उपभोक्ता ?

काठमाडौं । प्रोटोन इमास-७ ‘एजिस सर्ट ब्लेड ब्याट्री’मा नेपाल आउने भएको छ । जिली ग्रुपले बनाएको सर्ट ब्लेड ब्याट्री सुरक्षाको लागि निकै राम्रो मानिन्छ ।

उक्त ब्याट्रीलाई १०० किलोवाट क्षमताको डिसी चार्जरले चार्ज गर्दा २० मिनेटमा ३० देखि ८० प्रतिशत पु¥याउन सकिने कम्पनीको दावी छ । गाडीको एयरोडाइनामिक्स र ह्याण्डलिङ पनि उत्कृष्ट बनाउन एजिस सर्ट ब्लेड ब्याट्रीले सहयोग गरेको कम्पनीको दावी छ ।

तिब्र गतिमा चार्जिङ, लामो ब्याट्री लाइफ र उत्कृष्ट पर्फर्मेन्स सर्ट ब्लेड ब्याट्रीको मुख्य बिशेषता हो । साथै, ब्लेड ब्याट्रीको कारण कारको क्याविनमा पनि प्रसस्तै स्थान पाउन सकिन्छ ।

तान्ला नेपाली उपभोक्ता ?

अहिले बजारमा रहेको चल्तीका बीवाइडी एटो-थ्री र ओमोडा ई-फाइभ जस्ता मोडलसँग प्रतिस्पर्धा गर्न आउने इमास-७ लाई उपभोक्ताले कसरी लिन्छन्, त्यो थाहापाउन भने अझै कुर्नु पर्ने हुन्छ ।

मलेशियामा बिक्री सुरु भएको इमास-सेभेनमा फ्रन्ट ह्वील ड्राइभ १६० किलोवाट क्षमताको पावरफुल मोटर छ । यसको पीकटर्क भने ३२० न्यूटन मिटर छ । इमास-सेभेनले शून्यबाट १०० को स्पीड भेट्टाउन ६.९ सेकेन्ड मात्रै लगाउने छ । एसयूभीको टप स्पीड १७५ किलोमिटर प्रतिघन्टा छ ।

इमास-सेभेनमा भेरियन्ट अनुसार ४९.५२ र ६०.२२ किलोवाट आवर क्षमताको ‘एजिस सर्ट ब्लेड ब्याट्री’ दिइएको छ । यी दुई ब्याट्रीको रेन्ज क्रमशः ३४५ र ४१० किलोमिटर रहने डब्लूएलटीपी टेस्टले देखाएको छ । प्रोटोनका अनुसार उक्त ब्याट्रीलाई ९२१ पटक पुरै चार्ज र डिस्चार्ज गर्दा ९०.५ प्रतिशत ब्याट्री हेल्थसहित ४ लाख किलोमिटर सजिलै गुडाउन सकिनेछ ।

इमास-सेभेन एसयूभीमा टु स्पोक स्टेरिङ ह्वील, १०.२ इन्चको एलसीडी इन्ट्रुमेन्ट क्लष्टर, १५.४ इन्चको सेन्टर इन्फोटेनमेन्ट स्कृन, १३.८ इन्चको हेडअप डिस्प्ले, वायरलेस फोन चार्जर पाउन सकिन्छ ।

प्रोटोनले यसमा दुई लेभलको सेन्टर कन्सोल, स्टेरिङ कोलुममा दिइएको गियर सेलेक्टर, पानारोमिक सनरुफ, २५६ कलरको एम्बीयन्ट लाइट, पावर टेलगेट जस्ता फिचर समेटेको छ । भेन्टीलेटेड एण्ड पावर फ्रन्ट सिट, १६ वटा स्पीकर र लेभल २ एडास फिचर यसमा दिइएको छ ।

सी सिग्मेन्ट एसयूभीको रुपमा बजारमा आएको इमास-सेभेनको लम्बाइ ४६१५ एमएम, चौडाइ १९०१ एमएम र उचाइ १६७० एमएम छ । २७५० एमएम लामो ह्वीलवेस रहेको एसयूभीमा १७३ एमएम अग्लो ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ ।

मलेशियन बजारमा २३ हजारदेखि २७ हजार अमेरिकी डलर मूल्य तोकेर बिक्री सुरु भएको इमास-सेभेन नेपाली बजारमा ५७ लाखदेखि ६५ लाख रुपैयाँसम्म मूल्य तोकेर बिक्री सुरु हुने अनुमान गरिएको छ । यही मूल्यको आसपासमा ओमोडा ई-फाइभ र बीवाइडी एटो-थ्री पनि बिक्री हुँदै आएका छन् ।


Back_to_top