ईभीको बाटो कोर्दै सकियो ‘भारत मोविलिटी एक्स्पो २०२५’

नयाँ दिल्ली । भारत मोविलिटी एक्स्पो २०२५ प्रगती मैदानमा रहेको भारतमण्डपम्मा जनवरी १७ देखि २२ तारिखसम्म चल्यो । भारतमा सर्वाधिक गाडी बिक्री गर्ने मारुती सुजुकी, हुन्डाई, टाटा, महिन्द्रा, टोयोटा, किया जस्ता ब्राण्डले सक्रिय रुपमा एक्स्पोमा सहभागिता जनाए ।

युरोपीयन ब्राण्ड स्कोडा, पोर्श्चे, मर्सिडिजले पनि आफ्नो लागि भारतीय बजार कति महत्वपूर्ण छ भन्ने देखाउने प्रयास गरे । यी ब्राण्डका अलावा चिनियाँ ब्राण्ड बीवाइडी र भियतनामी ईभी कम्पनी भिनफास्टले पनि भारतीय बजार आफ्नो लागि महत्वपूर्ण रहेको संदेस दिए ।

यस पटक अधिकांश कम्पनीको ध्यान ईभीमा केन्द्रित भएको देखियो । टाटा, हुन्डाई, महिन्द्रादेखि सुजुकीसम्मका ब्राण्डले स्टलमा पेट्रोल कारलाई प्राथमिकतामा मै राखेनन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गर्दै सबै निर्मातालाई ईभी उत्पादनमा केन्द्रित हुन अनुरोध गरेका थिए ।

प्रधानमन्त्री मोदीको भनाइ र कार निर्माताहरुको प्रयास एउटै स्थानमा देखिन्छ । किन भने कुनै पनि उत्पादकले पेट्रोल कारलाई प्राथमिकतामा राखेका छैनन् । सबैले आफ्नो स्टलमा ईभी नै सजाएका थिए ।

चार पाङ्ग्रेमा मात्रै होइन, दुई पाङ्ग्रे साधन उत्पादकको रोजाईमा पनि विद्युतीय नै परेको देखिन्थ्यो । होन्डा, बजाज, टीभीएस, सुजुकी, हिरोदेखि नयाँ स्टार्टअपहरुको ध्यान राम्रा विद्युतीय स्कुटरमा रहेको मोविलिटी एक्स्पोले संकेत गरेको थियो ।

ईभीयम बनेको अटो शो

भारतमा ईभीको बिक्री न्यून रहेपनि कार निर्माताहरुले ईभीलाई मुख्य प्राथमिकतामा राखेको देखियो । कम्पनीहरुले ईभी विकासमा आफुलाई अगाडि सारेपनि देखाइएका उत्पादनहरु अब्बल भने देखिएनन् ।

भारतमा ईभीको लागि आवश्यक ईको सिस्टम नै तयार नभएको भान हुन्थ्यो । कार निर्माताहरुले बिक्रीको लागि धेरै मोडल उपलब्ध नगराएपनि चाँडै केही ब्राण्डका उत्पादन बजारमा आउने छन् ।

टाटा सियरा, मारुती सुजुकी ई-भिटार, हुन्डाई क्रेटा, महिन्द्रा बीई-६ र एक्सईभी-९, एमजी एस-५ जस्ता मोडल बजार प्रबेशको लागि तयार थिए । अर्वान मोविलिटीमा टीभीएस र हुन्डाईको सहकार्य अर्को देख्न लायक पक्ष थियो ।


Back_to_top