काठमाडौं । सन् २०२४ मा भारतमा सर्वाधिक बिक्री भएको टाटा पन्चको उत्पादन ५ लाख युनिट पुरा भएको छ । कम्पनीको सर्वाधिक बिक्री भएको माइक्रो एसयूभी नेपालमा इलेक्ट्री र पेट्रोल भर्सनमा बिक्री हुँदै आएको छ ।
टाटाले भारतमा पन्चको पेट्रोल, सीएनजी र इलेक्ट्रीक भर्सन बिक्री गर्दै आएको छ । चाँडै फ्लेक्स फ्यूलबाट चल्ने पन्च पनि बजारमा आउने छ । टाटा ब्राण्डकै पहिलो फ्लेक्स फ्यूल मोडलको रुपमा पन्च आउन लागेको दावी मिडिया रिपोर्टहरुमा गरिएको छ । सन् २०२१ को अक्टोबरमा लन्च भएको टाटा पन्चको चाँडै फेसलिफ्ट मोडल पनि बजारमा आउने छ ।
टाटाको अल्फा एआरसी प्लेटफर्ममा बनेको पन्चमा १.२ लिटर क्षमताको पेट्रोल इन्जिन उपलब्ध छ । यसको ईभी भर्सनमा ९० किलोवाटको इलेक्ट्रीक मोटर दिइएको छ ।
टाटाले सन् २०२४ को जनवरीमा इलेक्ट्रीक पन्च ल्याएको थियो । कम्पनीको पहिलो प्योर ईभी आर्किटेक्चरमा बनेको मोडल पनि यहि हो ।
टाटा पन्चमा ड्यूल एयरव्याग, एबीएस, इबीडी, रियर पार्किङ सेन्सर, रियर भ्यू मोनिटर जस्ता सुरक्षा फिचर छन् । यो एसयूभीले ग्लोबल एनक्याप तथा भारत एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ समेत पाएको छ ।

