ई-०७ को अफरोड टेष्ट ड्राइभ : डिजाइनसँगै अटोमोवाइलमा नयाँ भविष्यको खोज

काठमाडौं । एमएडब्लू वृद्धिले हिजो काठमाडौंमा एक कार्यक्रम आयोजना गरेर दीपल ई-०७ सार्वजनिक गरेको छ । कम्पनीले रियर ह्वील ड्राइभ मोडललाई ९९ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर बिक्री सुरु गरेको हो ।

यसको फोर ह्वील ड्राइभ भर्सन खोज्नेले भने ठ्याक्कै एक करोड रुपैयाँ बढी तिर्नु पर्ने हुन्छ । फोर ह्वील ड्राइभ ई-०७ को मूल्य १ करोड ९९ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । मूल्यको हिसावले धेरै लाग्ने यो गाडी ट्रान्सफर्मर मोडल हो ।

एसयूभी र पीकअपको काम एउटै गाडीले गर्नेगरी तयार भएको कारण यसमा धेरैको रुची हुनसक्छ । अर्को कुरा, यो अटोमोवाइल क्षेत्रकै लागि नयाँ प्रयोग हो । त्यसैले त यसको डिजाइनले भविष्यमा अटोमोवाइल क्षेत्रमा थप नयाँ प्रयोगको आयाम खुल्ला गरेको देखिन्छ ।

चांगान अटोमोबाइलका अनुसार ई-०७ विश्वकै पहिलो कन्भर्टेबल एसयूभी र पीकअप हो । पीकअपको पनि काम गर्ने भएपछि त्यसलाई अफरोडमा परीक्षण गर्नु उपयुक्त हुने देखेर हामीले काठमाडौंको नक्सालदेखि नुवाकोटको ककनीसम्मको अफरोड यात्रा गरेका थियौं ।

ड्राइभिङ अनुभव

अफरोडमा यसलाई चलाउँदा मुख्यतया दुई कुरामा हाम्रो ध्यान थियो । पहिलो धेरै नै खाल्डाखुल्डी भएको बाटोमा यसले कत्तै छुन्छ वा छुन्न भन्ने थियो । ककनी जाने बाटोको दुराअवस्था हामीले सुन्न थालेको झण्डै एक दशक भएको छ । त्यो बाटो यसले सहजै पारग¥यो ।

अर्को पर्फर्मेन्स कस्तो हुन्छ भन्ने थियो । यसमा १९० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर दिइएको कारण कुनै पनि स्थानमा गाडी लिएर जाँदा समस्या भएन । पावरमा कुनै किसिमको सम्झौंता भएको छैन ।

यसमा दिइएको एयर सस्पेन्सन पनि निकै उपयोगी छ । यदि गाडीलाई ग्राउन्ड क्लियरेन्स पुगेन भने सस्पेन्सनले नै ३० एमएमसम्म ग्राउन्ड क्लियरेन्स अवस्था हेरेर बढाई दिनेछ ।

रेन्जको कुरा

हामीले चलाएको अफरोड बाटोलाई मात्रै आधार मान्दा पनि ५०० किलोमिटर माथि नै यसले रेन्ज दिने पायौं । यदि यसलाई समथर बाटोमा चलाउने हो भने डब्लूएलटीपीले भनेको ५६६ किलोमिटर आसपास नै रेन्ज पाउन सकिन्छ ।

दीपल ई-०७ मा ८९.९८ किलोवाट आवरको एलएफपी ब्याट्री दिइएको छ । कम्पनीले यसलाई ईको नर्मल, स्पोर्टस्, कस्टुम र सुपर इनर्जी सेभिङ मोड दिएर ल्याएको छ । यसमा उपलब्ध सुपर इनर्जी सेभिङ मोडको प्रयोग गर्दा ६० किलोमिटर माथि रेन्ज थप्न सकिन्छ ।

दीपल ई-०७ लाई ६०० एमएम गहिरो पानीमा पनि चलाउन सकिने कम्पनीको दावी छ । यसले २४० किलोवाट क्षमताको डीसी फास्ट चार्जर सपोर्ट गर्नेछ ।

अब कुरा गरौं डिजाइनको

एरोडाइनामिक डिजाइन ईभी विकाससँगै चल्तीको शब्द भएको छ । दीपलले पनि यसको ड्रयाग कोफिसेन्ट ०.२३७ सीडी रहेको दाबी गर्छ । यसकै कारण क्याबिनमा बाहिरको आवाज कम आउँछ भने गाडीको पर्फमेन्स पनि सुधार भएको छ ।

स्टार रिङ हेडलाइ लाइट, स्लीक डिजाइनको बडी र अन्डर बडी स्कीड प्लेटको प्रयोगले गाडीलाई अफरोडरको झल्को दिन्छ ।

‘सुपर ब्रेन कम्प्यूटीङ प्लेटफर्ममा बनेको ई-०७ इन्टेलिजेन्ट ड्राइभिङ क्याबिलिटी भएको मोडल हो । यसमा २८.८६ इन्चको एचयूडी डिस्प्ले दिइएको छ । यसको ड्यासबोर्डमा रहेको १५.४ इन्चको सनफ्लावर स्क्रीन दिइएको छ ।

यसमा तपाईंले ५४० डिग्री क्यामेरा पाउनु हुन्छ । गाडीको मुनि रहेका कुनै जनावर छन् भने पनि उनीहरूलाई दुर्घटनाबाट बचाउन ५४० डिग्री क्यामेराले सहयोग गर्छ । वेभ राडार, अल्ट्रासोनिक सेन्सर र एड्भान्स सेफ्टी फिचर लोडेड गाडीमा एडास फिचर उपलब्ध छ ।

मल्टी जोन क्लाइमेट कन्ट्रोल, ५० वाटको वायरलेस चार्जर जिरो ग्राभिटी सिट, भेन्टिलेटेड सिट पाउन सकिन्छ ।

अन्त्यमा

दीपलले ल्याएको ई-०७ एउटा पृथक एसयूभी खोज्ने मानिसको लागि उपयोगी हुन सक्छ । यसले ग्राहकलाई धेरै कुरा दिएको पनि छ । तर, यसमा रहेको कार्गो स्पेश कसरी उपयोग गर्ने भन्ने कुरा खरिद गर्नेले पहिल्यै सोच्दा राम्रो हुन्छ ।

विद्युतीय साधनमा ठूलो परिवर्तन चलिरहेको छ । यस्तोमा दीपलको यो प्रयोग केबल प्रयोगमा सीमित रहन्छ कि मानिसले मन पराउँछन्, त्यो हेर्न भने थप समय कुर्नु पर्ने हुन्छ ।


Back_to_top