काठमाडौं । सन् २०२३ देखि २०२५ को सुरूवातसम्म नेपाली बजारमा झण्डै दुई दर्जन बढी कार चिनियाँ ब्राण्ड प्रवेश गरे । लामो समय सीमित जापानी, युरोपियन, अमेरिकन र भारतीय ब्राण्डको वर्चश्व रहेको बजारमा चिनियाँ ब्राण्डको प्रवेशसँगै अवसर र चुनौती दुवै थपिएको हो ।
चीनबाट आयात हुने सबै कारहरू अहिले विद्युतीय हुन थालेका छन् । विद्युतीय कारको उर्वर भूमि मानिएको चीनबाट विद्युतीय कार ब्राण्ड नेपाल ल्याउन अझै पनि यहाँका व्यवसायीहरू दौडधूप गरी नै रहेका छन् । चीनबाट थप आधा दर्जन बढी ब्राण्ड नेपाल आउने तयारीमा छन् ।
चीन बाहेकका देशमा खुलेका स्टार्टअप कम्पनीका कुनै पनि ब्राण्ड नेपाल आएका छैनन् । एकाध ब्राण्ड नेपाल आउने भनिए पनि ती ब्राण्डका साधन आइपुगेका छैनन् । त्यसैल नयाँ ब्राण्डहरूले बजारमा सृजना गरेको अवसर र चुनौतीका विषयमा यहाँ चर्चा गरौं ।
कस्ता अवसर प्राप्त भयो ?
कुनै पनि नयाँ ब्राण्ड आउने बित्तिकै बजारमा प्रतिस्पर्धा बढ्छ । प्रतिस्पर्धा बढेसँगै सबैभन्दा पहिलो कुरा उपभोक्ताले छनोट पाउने भए । यी एक वर्षमै आएका दुई दर्जन ब्राण्डका कारण उपभोक्ताले धेरैभन्दा धेरै छनोट पाए ।
मोडल छनोटसँगै मूल्यको प्रतिस्पर्धा झनै तीव्र भयो । मूल्यमा प्रतिस्पर्धा हुँदा कम रकममा उत्कृष्ट फिचरले भरिएको गाडी उपभोक्ताले खरिद गर्न पाए । यसले हाम्रो जस्तो कम फिचरका गाडी नै महँगोमा किन्नु पर्ने बजारमा फिचर लोडेड कारको संख्या वृद्धि भयो ।
संख्यात्मक रूपमा कार ब्राण्डहरू आयात गर्न दिनुभन्दा आयात गर्नु अगाडि उसको काम र कर्तव्य निर्धारण गर्नुपर्ने अवस्था सृजना भएको छ ।
थपियो चुनौती
नयाँ ब्राण्डहरू, त्यसमा पनि स्टार्टअप कम्पनीले बनाएका साधन ल्याएर बिक्री गर्ने कम्पनीहरूले समयमा सर्भिस दिन सकेका छैनन् । त्यसैले चुनौतीको पहिलो बुँदा नै सर्भिस भएको छ ।
अर्को, चुनौती महँगो पार्टस् हो । विद्युतीय साधनको पार्टस् तुलनात्मक रूपमा महँगो छ । पार्टस् महँगो हुनुको मुख्य कारण नयाँ कम्पनीहरूको योजनामा त्रुटी हो । गाडीसँगै त्यसको लागि आवश्यक १० प्रतिशत पार्टस् स्टकमा राख्ने पुराना गाडी बिक्रेताको शैलीलाई ईभी उत्पादक र बिक्रेताले अनुशरण गरेको पाइँदैन ।
ब्याट्री र मोटर जस्ता न्यू इनर्जी भेहिकलका महत्वपूर्ण पार्टस्हरू आयातकर्ताले स्टकमा राखेर कारोबार सुरू गरेका छैनन् । अझ मोटरमा केही कानुनी अड्चनको कारण ल्याएर स्टक राख्न कठिनाइ देखिन्छ । त्यसैले गाडीमा समस्या आएपछि सामान मगाउने प्रक्रिया सुरू गर्दा एउटा गाडी बनाउन आधा वर्षसम्म कम्पनीहरूले लगाउने अवस्था छ ।
अबको बाटो
सरकारले नयाँ ब्राण्डको आयातमा निश्चित मापदण्ड निर्माण गर्नु पर्ने देखिन्छ । हुन त बजारले वस्तु छनोट गर्ने र मूल्य निर्धारण गर्ने पद्धतिमा हामी छौं । तर, महँगो डलर किनेर वस्तु आयातमा खर्च गर्ने हाम्रो जस्तो सानो देशले कुन मापदण्डको साधन ल्याउन दिने भन्ने एकिन विधि तय गर्नु उपयुक्त हुन्छ ।
गाडी आयातकर्ताले अनिर्वाय राख्नु पर्ने पार्टस्को सीमा निर्धारण र बिक्रीपछिको सेवा ग्यारेन्टी खोज्नु पर्ने अवस्था छ । यहाँ मदिरा र चुरोट आयात गर्न दिए जसरी गाडी ब्राण्ड आयात गर्न दिँदा त्यसले सृजना गर्ने दायित्वले अन्तत नेपालीकै सम्पत्तिमा क्षती पुग्नेछ ।
त्यसैले संख्यात्मक रूपमा कार ब्राण्डहरू आयात गर्न दिनुभन्दा आयात गर्नु अगाडि उसको काम र कर्तव्य निर्धारण गर्नुपर्ने अवस्था सृजना भएको छ । अन्यथा च्याउ उम्रे जसरी खुलेका गाडीका शोरुमहरूले धेरैको सम्पत्ति सक्ने अवस्था आउने छ ।

