साओमीको पहिलो एसयूभीको रेन्ज ७६० किमी

काठमाडौं । टेक जाइन्ट साओमीले गत वर्षबाट कार उत्पादन हात हालेको हो । पहिलो मोडल सेडान ‘एसयू-७’ बजारमा ल्याएको कम्पनीले दोस्रो मोडल ‘वाईयु-७’ एसयूभी ल्याउन लागेको हो ।

बजारमा बिक्री सुरु नभएको वाईयु-७ मोडल हेर्दा निकै आकर्षक लाग्छ । टेस्ला मोडल वाईकै जस्तो डिजाइनमा तयार भएको वाईयु-७ ले सिंगल चार्जमा ७६० किलोमिटरसम्म रेन्ज दिने सीएलटीसीले जनाएको छ ।

साओमीले आफ्नो पहिलो एसयूभीलाई रियर ह्वील ड्राइभ र अल ह्वील ड्राइभ अप्सनमा बजारमा ल्याउने भएको हो । यसको अल ह्वील ड्राइभ भर्सनमा अगाडि २२० किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । पछाडि २८८ किलोवाट क्षमताको मोटर जडान भएको वाईयु-७ को संयुक्त पावर ५०८ किलोवाट रहेको छ । यस एसयूभीको टप स्पीड २५३ किलोमिटर प्रतिघन्टा रहने छ ।

लिथियम आयोन ट्रनरी ब्याट्री प्याकमा उपलब्ध हुने अल ह्वील ड्राइभ मोडलले सीएलटीसीले गरेको क्रुजिङ टेष्टमा भेरियन्ट अनुसार ७६० किलोमिटरसम्म रेन्ज दिएको कम्पनीको दावी छ । यसको रियर ह्वील ड्राइभ भर्सनमा प्रयोग भएको मोटर साइजका विषयमा कुनै जानकारी बाहिर आएको छैन ।

रियर ह्वील ड्राइभ मोटर भएको भेरियन्टमा ब्याट्री लिथियम आयोन फस्फेट रहने छ । पाँच मिटर लामो एसयूभीमा १९९६ एमएम फराकिलो क्याविन छ । गाडीको उचाइ भने १६०० एमएम मात्रै छ ।

साओमीले आफैं बनाएको एसिस्ट ड्राइभिङ सिस्टम उपलब्ध एसयूभीमा रुफमा लाइडारको प्रयोग गरिएको छ ।


Back_to_top