काठमाडौं । जापानी अटोमोबाइल कम्पनी निसान र होण्डाको प्रस्तावित मर्जर असफल भए लगत्तै चिनियाँ सरकारी अटोमोबाइल कम्पनीहरूले सम्भावित मर्जरको घोषणा गरेका छन् ।
चिनियाँ दुई सरकारी लगानी भएका अटोमोबाइल ग्रुप चांगान र डोङफेङले एक आपसमा मर्ज गर्ने योजना बाहिर ल्याएका हुन् । चांगान र डोङफेङ मर्ज भएमा चीनको सबैभन्दा ठूलो अटोमोबाइल ग्रुप बन्नेछ ।
यी दुई कम्पनी एक आपसमा मात्रै नभएर अर्को कुनै सरकारी उद्योग पनि थपेर अगाडि जाने तयारी भएको घोषणा गरेका छन् । दुवै कम्पनीले अर्को नयाँ कम्पनीको बारेमा आधिकारिक धारणा सार्वजनिक गरेका छैनन् ।
चिनियाँ स्थानीय संचारमाध्यम ३६केआरका अनुसार दुई कम्पनी मर्ज भएर नयाँ अटोमोबाइल ग्रुप बन्नेछ । नयाँ अटोमोबाइल ग्रुपमा डोङफेङ बलियो अवस्थामा रहने देखिएको छ ।
नयाँ बन्ने अटोमोबाइल ग्रुपको चेयरम्यान अहिलेका डोङफेङका अध्यक्ष याङ क्वीङ र जनरल मेनेजर पनि डोङफेङकै हुनेछ । चांगानका चेयरम्यान नयाँ कम्पनीको म्यानेजमेन्ट लिस्टमा छैनन् । उनले सन् २०२५ भित्रै रिटायर्ड घोषणा गर्ने रिपोर्टमा दावी गरिएको छ ।
यदि, डोङफेङ र चांगान मर्ज भएमा चीनकै ठूलो कार निर्माता बन्नेछ । सन् २०२४ मा यी दुई कम्पनीले मिलेर ४५ लाख ८० हजार गाडी बिक्री गरेका छन् । जुन बीवाइडीकोभन्दा धेरै हो । मर्जर सफल भए यो ग्रुप विश्वको पाँचौ ठूलो अटोमोबाइल ग्रुप बन्नेछ ।
नयाँ बन्ने अटोमोबाइल ग्रुपले सप्लाई चेन दुरुस्त बनाउने छ । साथै, गुणस्तरीय सप्लायर्सबाट हाइ क्वालिटी पार्ट्स र टेक्नोलोजी लिनेछ ।
यसअघि चिनियाँ ‘स्टेट ओन्ड एसेट्स सुपरभिजन एण्ड एड्मिनिस्ट्रेसन कमिनस अफ द स्टेट काउन्सिल’का अध्यक्ष झाङ्ग युझुले सरकारी अटोमोबाइल कम्पनीहरू न्यू इनर्जी भेहिकल विकास र विस्तारमा एकदमै सुस्त रहेको बताएका थिए ।
युझुले सरकारी कम्पनीहरूको परम्परागत तरिकालाई परिवर्तन गर्दै नयाँ प्रविधि विकासमा लगाउनु पर्ने भन्दै चाँडै नयाँ नीति सार्वजनिक गर्ने संकेत गरेका थिए । खासगरी उनको आरोप सरकारी स्वामित्व रहेको चांगान, डोङफेङ र एफएडब्लू ग्रुप प्रति थियो ।
अहिले चांगान र डोङफेङ एक आपसमा मर्ज गर्ने तयारी गरिरहँदा एफएडब्लु ग्रुपले भने केही बताएको छैन ।
डोङफेङ र चांगानको गाडी नेपाली बजारमा पनि उपलब्ध छन् । यी दुवै ब्राण्डका ईभी अहिलेसम्म एमएडब्लू वृद्धिले बिक्री गर्दै आएको छ । नेपालमा एउटै समूहले दुवै ब्राण्डको ईभी बिक्री गर्दै आएको कारण यहाँ खासै असर पर्ने छैन ।

