काठमाडौं । सीएफमोटोको नयाँ मोटरसाइकल बिक्री सुरू भएको छ । सीएफमोटोले ‘३०० एनके’ मोडलको बिक्री सुरू गरेको हो ।
सीएफमोटोको नेपालका लागि आधिकारिक बिक्रेता ऋषि ट्रेड सेन्टरले ७ लाख ४ हजार ९०० रुपैयाँ मूल्य तोकेर ३०० एनके मोडलको बिक्री सुरू गरेको हो ।
नयाँ मोटरसाइकल आएसँगै एनके सिरिजमा तीन मोडल भएका छन् । यसअघि कम्पनीले २५० एनके र ४५० एनके बिक्री गर्दै आएको थियो । सीएफमोटो २५० र ३०० एनकेको डिजाइन उस्तै देखिन्छ ।
सीएफमोटो ३०० एनकेमा २९२ सीसी सिंगल सिलिन्डर, फोरभल्भ, यूरो ५ इन्जिन रहेको छ । यो इन्जिनले ३० पीएस पावर र २५ एनएम टर्क जेनेरेट गर्छ । यसमा ६ स्पीड गियरबक्स जडान गरिएको छ ।
नेकेड स्ट्रीटफाइटर मोटरसाइकल ३०० एनकेको फ्रन्ट डिजाइन एकदमै अग्रेशिभ छ । अगाडि रहेको एलइडी हेडल्याम्प र एच आकारको एलइडी डिआरएल दिइएको छ । सबै एलइडी लाइट प्रयोग भएको ३०० एनके निकै स्टाइलिस देखिन्छ ।
कम्पनीले यसको अगाडि यूएसडी फर्क र पछाडि मोनोशक सस्पेन्सन दिइएको छ । दुबै चक्कामा डिस्क ब्रेक दिइएको ३०० एनके मोटरसाइकलमा डबल च्यानल एबीएस, सिल्पर क्लच, टीएफटी डिस्प्ले, दुई राइड मोड, अलोय ह्वील जस्ता फिचर पाउन सकिन्छ ।


