काठमाडौं । कोरियन अटोमोवाइल कम्पनी हुन्डाईले रेन्ज र चार्जिङ एन्जाइटीको समस्या समाधान गर्न नयाँ ब्याट्री ल्याउने भएको छ । कम्पनीले मार्च २०२५ मा सोलिड स्टेट ब्याट्री देखाउने भएको हो ।
हुन्डाईले ब्याट्री इलेक्ट्रीक र हाइब्रिड भेहिलकहरुमा प्रयोग गर्न सोलिड स्टेट ब्याट्री विकास गरिरहेको छ । कोरियन ईभी न्यूजका अनुसार हुन्डाईले आफ्नो पहिलो सोलिड स्टेट ब्याट्री मार्चमा देखाउने भएको हो । हुन्डाईले उक्त ब्याट्री उत्पादनको लागि दक्षिण कोरियाको विवाङ रिसर्च सेन्टरमा पाइलट प्रोडक्सन लाइन बनाएको छ ।
कोरियन कार निर्माताले विकास गरेको पहिलो सोलिड स्टेट ब्याट्रीको नाम ‘ड्रिम ब्याट्री’ राखेको छ । यसको मास प्रोडक्सन भने सन् २०३० बाट मात्रै सुरु हुने बताइएको छ । अहिले बनाउन लागेको ब्याट्री प्याक टेस्टीङ भेहिकलहरुमा प्रयोग हुनेछ । उक्त ब्याट्रीलाई कम्पनीहरुले बनाउने प्रोटोटाइप मोडलहरुमा यही वर्षबाट प्रयोग हुनेछ ।
पछिल्लो समय टेक्नलोजीको विकास भएसँगै टोयोटा, होण्डा जस्ता स्थापित जापानीज अटोमोवाइल कम्पनीले पनि आफ्नै सोलिड स्टेट ब्याट्री निर्माणमा काम गरिरहेका छन् । विद्युतीय सवारी साधन उद्योगको लागि सोलिड स्टेट ब्याट्री ‘गेम चेन्जर टेक्नोलोजी’ हुने अपेक्षा गरिएको छ ।
परम्परागत लिथियम आयोन ब्याट्रीमा लिक्विड इलेक्ट्रोलाइट प्रयोग भएको हुन्छ जसले एनोड र क्याथोडका बीच आयोन प्रशारण गर्छ ।
सोलिड स्टेट ब्याटीमा भने पोलिमर, अक्साइड वा सल्फीडेसले लिक्विडलाई रि–प्लेस गर्छ । सोलिड इलेक्ट्रोलाइटले सानो प्याकमा पनि धेरै इनर्जी स्टोरेज गर्ने क्षमता राख्छ । त्यसका साथै यसमा थर्मल स्टेबिलीटी उत्कृष्ट हुन्छ र इलेक्ट्रोनहरु अझ दु्रत गतिमा मुभ हुने भएकाले चार्जिङ स्पीड पनि धेरै हुन्छ । जसका कारण सोलिड स्टेट ब्याट्रीहरु हलुका र सुरक्षीत हुनुको साथमा चार्जिङ पर्फर्मेन्स समेत राम्रो हुन्छ ।


