एडास भित्रका फिचरमा कमजोर देखियो क्रुज कन्ट्रोल

काठमाडौं । आधुनिक कारहरु चालक रहित बनाउन कार निर्माताहरु लागि परेका छन् । अटोनोमस ड्राइभिङ हरेक कार निर्माताको लक्ष्य बन्न थालेको छ । अमेरिकी कार निर्माता टेस्लाले अटोनोमस कार निर्माण गर्ने घोषणा गरेको दशक हुन लाग्यो ।

चिनियाँ, युरोपियन, दक्षिण कोरियाली ब्राण्डहरुले एडास फिचरमा ठूलो सफलता पाइसकेका छन् । चिनियाँ कम्पनी बीवाइडीले दुई दिनअघि मात्रै ‘गड्स आई’ नामक एडास फिचर सार्वजनिक गरेर विश्व अटोमोवाइलमा हलचल पैदा गराएको छ । जति धेरै टेक्नोलोजीको प्रयोग हुन्छ, त्यसको फाइदासँगै केही बेफाइदा पनि लिएर आएका हुन्छन् ।

नेदरल्याण्डका अनुषन्धानकर्ताहरुले एडास भित्र रहेका २८ फिचरको फाइदा र बेफाइदाका विषयमा खोज गरेका थिए । उनिहरुले क्रुज कन्ट्रोल वा एडाप्टीभ क्रुज कन्ट्रोलले दुर्घटना धेरै निम्त्याएको भेट्टाएका हुन् ।

चार समूहमा विभागज गरेर भएको अध्ययनमा टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता सूचना प्रणालीलाई कम जरुरत रहेको फिचर भनिएको छ । तर, यी फिचर केही न केही तरिकाले दुर्घटना कम गर्न सहयोगी देखिएका छन् ।

त्यस्तै क्रस ट्राफिक अलर्ट फिचरलाई चेतावनी समूहमा राखिएको छ । निकै सर्तकता पूवर्क गाडी चलाउनु पर्ने भएको कारण चालक चनाखो हुनुपर्ने अनुषन्धानले देखाएको छ । यसले पनि चालकलाई राम्रै फाइदा गरेको देखिएको छ ।

अझ रोचक के छ भने लेन कीप एसिस्ट जस्ता फिचरलाई हस्तक्षेपकारी भनिएको छ । यसले पनि दुर्घटना न्यूनिकरणमा सहयोगी भूमिका निर्वाह गरेको देखिन्छ ।

स्मार्ट पार्किङ असिस्ट जस्ता आराम बढाउने प्रणालीहरुलाई गाडीको उच्च नियन्त्रण र चालकको लागि कम आवश्यकता भएका फिचर भनिएको छ ।

अध्ययनका अनुसार टायर प्रेसर मोनिटर कै कारण गाडी र यात्रु सुरक्षामा कुनै असर नपरेको देखियो । तर, एडास भित्र रहेको ड्राइभर मोनिटरिङ सिस्टमले १४ प्रतिशत दुर्घटना कम गर्न सहयोग गरेको पाइयो ।

लेन कीप असिस्टकै कारण १९ प्रतिशत दुर्घटना कम भएको अध्ययनले देखाएको छ । तर, क्रुज कन्ट्रोल वा एडाप्टीभ क्रुज कन्ट्रोलले उल्टो १२ प्रतिशतले दुर्घटना बढाएको अध्ययने देखाएको छ ।


Back_to_top