सवारीसाधनको ह्वील–लकबाट ५० लाख राजस्व सङ्कलन

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५१ दिनमा ९ सय ३१ वा सवारीसाधनको ह्वील–लक कारबाही गरेको छ । महाशाखाले गत मंसिर ८ गतेदेखि सञ्चालनमा ल्याएको उक्त कारबाहीका क्रममा ५० लाखको हाराहारीमा राजस्व सङ्कलन गरेको छ ।

काठमाडौं उपत्यकामा हुने अनाधिकृत पार्किङ्गलाई निरुत्साहित गर्न ‘ह्वील–लक’ लगाउने कार्यलाई तिब्रता दिएको हो ।

महाशाखाले उपत्यकामा हुने अत्याधिक जामलाई व्यवस्थित पार्न र अनाधिकृत पार्किङ्गलाई निरुत्साहित गर्न चारपाङ्ग्रे सवारीसाधनमा लगाउँदै आएको ‘ह्वील–लक’ लाई थप तिब्रता दिएको एसएसपी वसन्तकुमार पन्तले जानकारी दिए ।

‘यसरी ‘ह्वील–लक’ लगाउँदा सम्बन्धित सवारी चालकलाई उक्त कारबाहीअन्तर्गत कहाँ र कसलाई सम्पर्क गर्ने भन्ने कुरा भने विस्तृत विवरणसहितको स्टीकर चालकतर्फको झ्यालमा टाँस्न थालिएको छ,’ एसएसपी पन्तले मेरोअटोसँग भने ।

स्टीकरमा सवारीसाधनको नम्बर, ठाउँ, मिति र समयसमेत उल्लेख गरिएको हुने उनले जानकारी दिए ।

महाशाखाकाअनुसार ह्वील–लक खुलाउन स्टीकरमा लेखिएको ट्राफिक प्रहरीको मोबाइल नम्बरमा वा ट्राफिक प्रहरीको हटलाइन नम्बर १०३ मा चालकले सम्पर्क गर्नुपर्ने हुन्छ ।

साथै, महानगरले मोटरसाइकल जथाभावी पार्किङ्ग गरेको पाइएमा चेन–लकको समेत व्यवस्था ल्याएको छ ।


Back_to_top