काठमाडौं । पारामाउन्ट मोटर्सले विभिन्न तीन भेरियन्टमा एमजी एस-५ नेपाल ल्याउने भएको छ । कम्पनीले ४९ किलोवाट आवर र ६२ किलोवाट आवरको दुई ब्याट्री अप्सनसहित एस-५ मोडललाई तीन भेरियन्टमा ल्याउने भएको हो ।
कम्पनीले एस-५ को इन्ट्री भेरियन्टलाई ४६ लाख ९९ हजार रुपैयाँबाटै बिक्री थाल्ने छ । जसमा ४९ किलोवाट आवरको ब्याट्री र ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर उपलब्ध छ । यहि ब्याट्रीको फुल अप्सन भने ५२ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्नेछ ।
यी दुई भेरियन्टमा रहेको मुख्य फरक भनेको तीन फिचरमा छ । कम मूल्यको भेरियन्टमा पानारोमिक सनरुफ, ३६० डिग्री क्यामेरा र वायरलेस चार्जर दिइएको छैन । जुन टप भेरियन्टमा पाउन सकिन्छ ।
कम्पनीले ठूलो ६२ किलोवाट आवरको ब्याट्रीमा उपलब्ध हुने भेरियन्टको मूल्य भने ५७ लाख ९९ हजार रुपैयाँ राखेको छ । कम्पनीले दुई टप भेरियन्टको बीचमा ५ लाख रुपैयाँको अन्तर गरेर मूल्य कायम गरेको छ । टप भेरियन्ट खरिद गर्ने उपभोक्ताले १३ किलोवाट आवर बढी क्षमताको ब्याट्री पाउने छन् ।
एमजी एस-५ कम्पनीको डेडिकेटेड प्लेटफर्ममा बनेको क्रसओभर एसयूभी हो । रियर ह्वील ड्राइभ सिस्टममा आएको नयाँ एसयूभी निकै मोर्डन डिजाइनमा उपलब्ध छ ।
यसमा प्रयोग भएको स्प्लीट ग्रिल डिजाइनको तल्लो भाग साइबरस्टरबाट प्रेरित रहेको छ । यसको पछाडि कनेक्टेड लाइटबारसहितको एलइडी लाइट छ । अन्य पार्टस निकै क्लिन देख्न सकिन्छ ।
एमजीले इन्ट्री भेरियन्टमा १७ इन्चको ह्वील दिएको छ । माथिल्ला दुई भेरियन्टमा १८ इन्चको ह्वील पाउन सकिन्छ । यसको लम्बाइ ४४७६ एमएम, चौडाइ १८४९ र उचाइ १६२१ एमएम छ ।

