नयाँ म्याग्नाइट टेष्ट ड्राइभः मूल्य अनुसारको पावर प्याक एसयूभी (भिडियोसहित)

काठमाडौं । निसान म्याग्नाइट फेसलिफ्ट आजबाट बिक्री सुरु भएको छ । पायोनियर मोटोकर्पले बिक्री सुरु गरेको म्याग्नाइट नेपालमा सफल मोडल हो ।

कम्पनीले विभिन्न दुई इन्जिन र ११ भेरियन्टमा उपलब्ध गराएको म्याग्नाइट एसयूभीको सुरुवाती मूल्य ३४ लाख ७५ हजार रुपैयाँ तोकिएको छ । यसको टप भेरियन्टको मूल्य ५२ लाख ९९ हजार रुपैयाँ कायम गरिएको छ ।

यसलाई हामीले काठमाडौंको विभिन्न क्षेत्र, चन्द्रागिरि हुँदै चित्लाङसम्मको बाटोमा चलाएर हेरेका छौं । यसको अफरोड ड्राइभिङ उत्कृष्ट छ । हामीले १.० लिटर नेचुरल्ली एस्पीरेटेड इन्जिन टेष्ट ड्राइभ गरेका थियौं । चन्द्रागिरिबाट चित्लाङ जाने बाटोमा यसको इन्जिनले उत्कृष्ट प्रदर्शन गरेको थियो ।

बडी डिजाइन, साइज र सेफ्टी फिचरमा नयाँ म्याग्नाइट निकै बलियो देखिन्छ । अनौठो डिजाइनको ३६० सराउन्ड भ्यू क्यामेरा, स्ट्यान्डर्ड भेरियन्टबाटै ६ एयरब्याग पाउन सकिने म्याग्नाइटमा भेहिकल डाइनमिक कन्ट्रोल, ट्रयाक्सन कन्ट्रोल सिस्टम, हिल स्टार्ट असिस्ट, हाइड्रोलिक ब्रेक एसिस्ट र टायर प्रेशर मोनिटरिङ सिस्टम पाउन सकिन्छ ।

यसअघिको म्याग्नाइटले ग्लोवल क्र्यास टेस्टमा फोर स्टार रेटिङ पाएको थियो । त्योभन्दा अब्बल बनाउन कम्पनीले सेफ्टी फिचर थप गरेर ल्याएको सहजै अनुमान लगाउन सकिन्छ । सबै सिटमा थ्री–प्वाइन्ट बेल्ट, सिट बेल्ट रिमाइन्डर उपलब्ध गराइएको छ ।

इन्टेरियरलाई निकै चालकमैत्री बनाइएको छ । सेन्ट्रल कन्सोलमा प्रयाप्त स्थान दिइएको छ । इन्फोटेन्टमेन्ट सिस्टम र इन्फमेसन डिस्प्लेको कम्बीनेसन उत्कृष्ट छ । पुस स्टार्ट/स्टप बटम निकै सहज स्थानमा पाउन सकिन्छ । थ्री स्पोक स्टेरिङ ह्वील र त्यसमा लिइएको बटमहरुको प्रयोग निकै सहज छ । ड्यासबोर्डमा दिइएको एसीका बटमहरु निकै ह्याण्डी छन् । सिट क्वालिटी र एम्बियन्ट लाइटले यात्रालाई सहज र रोमन्चक बनाउनेछ ।

इन्टेरियरसँगै नयाँ म्याग्नाइटको बाहिरी डिजाइन पनि राम्रो छ । नयाँ डिजाइनमा तयार भएको टर्न इन्डिकेटर, स्लिक एलइडी हेडल्याम्प र थ्रीडी हनिकम्व प्याट्रनसहितको एलइडी टेलल्याम्पले यसको डिजाइनमा नयाँ आयाम थप गरेको छ । एल आकारको सिग्नेचर डे टाइम रनिङ लाइटले म्याग्नाइटलाई आकर्षक बनाएको छ ।

नयाँ फ्लोटिङ अफलिफ्टेड स्किड प्लेट, ठूलो ग्रिल, नयाँ ड्यूल टोन १६ इन्च डायमण्ड कट एलोय ह्वील, फंक्सनल रुफरेल र २०५ एमएम अग्लो ग्राउन्ड क्लिरियन्सका कारण गाडीको लुक्स र पर्फमेन्स दुबैमा निखार आएको देखिन्छ ।

निसानले नयाँ फेसलिफ्ट म्याग्नाइटमा पनि १.० लिटर नेचुरल्ली एस्पीरेटेड तथा टर्बो इन्जिनलाई नै निरन्तरता दिएको छ । यसको माइलेज पनि उत्कृष्ट रहनेछ । कम्पनीले उक्त इन्जिनसँग ५ स्पीड म्यानुअल र एएमटी गियरवक्स दिएर ल्याएको छ ।


Back_to_top