काठमाडौं । डोङफेङ ग्रुपको नामी ब्राण्डबाट उत्पादन हुने दोस्रो मोडलको तस्बिर बाहिर आएको छ । चिनियाँ सरकारी स्वामित्वको कम्पनीले नामी-०६ क्रसओभर एसयूभीको तस्बिर पहिलो पटक बाहिर ल्याएको हो ।
नेपाली बजारमा नामी बक्स ह्याचव्याकले निकै राम्रो ब्यापार गरिरहेको समयमा कम्पनीले देखाएको दोस्रो प्रोडक्ट पनि निकै आकर्षक देखिन्छ । ४.३ मिटर लामो क्रसओभर एसयूभीमा १३५ किलोवाटको मोटर रहेको कम्पनीले जनाएको छ ।
नामीले अन्य धेरै फिचरहरुको बारेमा जानकारी अहिलेसम्म बाहिर ल्याएको छैन । तर, १६४५ एमएम अग्लो क्रसओभर एसयूभीमा २७१५ एमएम लामो ह्वीलवेस दिएको छ । गाडीको टप स्पीड क्षमता १५० किलोमिटर प्रतिघन्टा रहने कम्पनीले जानकारी दिएको छ ।
ब्याट्री लगायतका फिचरको बारेमा कुनै जानकारी बाहिर नल्याएको डोङफेङ नामी-०६ मा डिजेआईको एडास फिचर रहनेछ । हेर्दा निकै आकर्षक फ्रन्ट डिजाइन देखिएको नामी-०६ आगामी सांघाई अटो शोमा प्रदर्शनी हुने र १३ हजार ८०० अमेरिकी डलर मूल्यसहित बजारमा आउने अनुमान गरिएको छ ।

