अन्तत ढल्यो ईभी निर्माता ‘निकोला’

काठमाडौं । अमेरिकी इलेक्ट्रीक अटोमोवाइल कम्पनी टेस्ला र निकोलाको एक विशेष सम्बन्ध छ । निकोला टेस्ला अष्ट्रियामा जन्मिएका वैज्ञानिक हुन् । उनले एसी (अल्टरनेट करेन्ट) बाट चल्ने इन्डक्सन मोटरको आविष्कार गरेका थिए ।

उनकै नामबाट इलन मस्कले सन् २००४ मा इलेक्ट्रीक भेहिकल कम्पनी टेस्ला मोटर्स स्थापना गरेका थिए । त्यसपछि सन् २०१४ मा ट्रेभर मिल्टनले निकोला नामबाट हेबी ड्यूटी ब्याट्री इलेक्ट्रीक भेहिकल उत्पादन गर्ने कम्पनी स्थापना गरेका थिए ।

टेस्लाले इनल मस्कलाई विश्वको सबैभन्दा धनी व्यक्ति बनायो । निकोलाले ट्रेभर मिल्टनलाई सेक्युरिटी फ्रडको आरोपमा जेल पठायो । अन्ततः अहिले आएर निकोलाले आफु टाट पल्टेको घोषणा गरे । निकोलाले गत बुधबार च्याप्टर ११ बैकरप्सी प्रोटेक्सन फाइल गरेको हो ।

अमेरिकामा ईभीको मागमा भएको गिरावट, क्यास बर्न तथा नयाँ फण्डिङको च्यालेन्जले कम्पनीलाई बैकरप्टको अवस्थामा पुर्यायो । उक्त सूचनासँगै कम्पनीको स्टक एकैदिन ३८ प्रतिशतले घटेको छ ।

निकोलाको मार्केट क्याप ५० मिलियनभन्दा कममा आइपुगेको छ । सन् २०२० मा कम्पनीको कुल मार्केट क्यापिटलाइजेनस फोर्डको भन्दा धेरै २७ बिलियन डलरसम्म पुगेको थियो ।

निकोलाले ब्याट्री पावरको सेमी ट्रक र हाइड्रोजन पावर इलेक्ट्रीक ट्रक उत्पादन गर्दै आएको थियो । बैकरप्सी फाइल गरेता पनि कम्पनीले हाइड्रोजन फ्यूलिङ अपरेशनमा भने मार्चको अन्त्यसम्म सपोर्ट गर्ने जनाएको छ ।

अमेरिकाको एरिजोना बेसको निकोलाले पहिलो भेहिकल सन् २०२१ को डिसेम्बरमा डेलिभर गरेको थियो । धेरैवटा दुर्घटनाको रिपोर्ट आएपछि सेफ्टी कन्सर्नका कारण कम्पनीले सन् २०२३ मा सबै भेहिकल रिकल गरेको थियो ।

यसअघि पनि ईभी सेक्टरलाई नै परिवर्तन गर्ने दावी गर्दै कोभिड १९ को माहामारीको समयमा अमेरिकी ईभी स्टार्टअप कम्पनीहरु फिस्कर प्रोटेरा र लड्सटाउन मोटरले बैकरप्सी फाइल गरेका थिए ।

हुनत सफल अमेरिकी ईभी कम्पनी टेस्ला पनि सन् २०२४ को वार्षिक बिक्रीमा गिरावट आएको छ । टेस्लाले अफर र इन्सेन्टीभ दिएता पनि पुरानो हुँदै गएको लाइनअप र उच्च लागतको ऋणका कारण बिक्री घटेको हो ।


Back_to_top