एथरको नयाँ मोडल आएसँगै ४० हजार रुपैयाँले मूल्य घट्यो

काठमाडौं । एथरले २०२५ मोडलका स्कुटर नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एथर ४५० सिरिजका दुई स्कुटरको २०२५ मोडल सार्वजनिक गरेको हो ।

कम्पनीले अपडेटेड भर्सन स्कुटरको मूल्य ४० हजार रुपैयाँले घटाएर सार्वजनिक गरेको हो । भारतीय स्कुटर ब्राण्ड एथरको नेपालका लागि आधिकारिक बिक्रेता बैद्ययज् अर्गनाइजेशन अन्तर्गतको वैद्य इनर्जीले अपडेट सहितको एथर ४५० एक्स र ४५० एस सार्वजनिक गरेको हो ।

कम्पनीले ल्याएको नयाँ स्कुटरमा तीन मोडमा ट्रयाक्सन कन्ट्रोल, एथर स्ट्याक ६, वृद्धि भएको १६१ किलोमिटरसम्मको आइडिसी रेन्ज र नयाँ कलर अप्सन रहेको छ ।

अपडेट सहितको एथर ४५० एक्सको २.९ किलोवाट ब्याट्री भर्सनको मूल्य ३ लाख ६४ हजार ९९९ रुपैयाँ, ४५० एक्स ३.७ किलोवाट आवर ब्याट्रीको ३ लाख ९९ हजार ९९९ र ४५० एसको २.९ किलोवाट आवर ब्याट्री भर्सनको मूल्य ३ लाख २४ हजार ९९९ रुपैयाँ तोकेर सार्वजनिक गरेको हो ।

कम्पनीले बिक्री गर्ने एथर ४५० एक्सको टप भेरियन्टको मूल्य यसअघि ४ लाख ३९ हजार ९९९ रुपैयाँ रहेको थियो । उक्त स्कुटर सार्वजनिक कार्यक्रममा बोल्दै वैद्य इनिर्जका प्रबन्ध निर्देशक शूर्यान्स बैद्यले नेपालमा ईभी स्कुटर बिक्री नहुनका तीन कारण औल्याए ।

बैद्यले सर्भिस, ब्याट्री एस्योरेन्स तथा चार्जिङमा समस्या रहेको कारण विद्युतीय स्कुटर बिक्री नभएको बताए । त्यसका लागि एथरले हालसम्म २१ स्थानमा फास्ट चार्जर स्थापना गरिसकेको र छिट्टै १०० स्थानमा फास्ट चार्जर राखिने बताए ।

उनले नेपालमा स्कुटर बिक्री सुरु गरेको १६ महिनामा एथरलाई नम्बर वान कम्पनी बनाउन सफल भएको समेत बताएका छन् । एथरले २०२६ को अन्तिमसम्म एथर प्रयोग कर्तालाई निःशुल्क चार्जिङ सुविधा उपलब्ध गराउने घोषणा समेत गरेको छ ।


Back_to_top