काठमाडौं । कोरियन कार निर्माता हुन्डाईले आफ्नो माइक्रो एसयूभी इन्स्टर ईभीमा आधारित रेसिङ कार कन्सेप्ट सार्वजनिक गरेको छ । कम्पनीले देखाएको कन्सेप्ट कारलाई ‘इन्स्टेरोइड’ नाम दिइएको हो ।
हुन्डाई इन्स्टरलाई भिडियो गेम एस्थेटिकमा तयार पारेर अप्रिलको सरुवातमै देखाउन लागिएको हो । निकै एरोडाइनामिक बडीमा तयार भएको इन्स्टेरोइड निकै मिहिनेतका साथ बनाएको भान हुन्छ ।

पछाडि भागमा जहाजको जस्तो पखेटा, २१ इन्चको एयरो ह्वील, निकै एग्रेसिभ फ्रन्ट बम्पर र स्पोर्टी रियर बम्पर दिएको छ । डबल डेकर रियर विङ्ग उपलब्ध इन्स्टेरोइडमा बडी डिजाइन भने रेगुलर इन्स्टरकै जस्तो छ ।
यसको हेडलाइट गोलो आकारमै उपलब्ध हुनेछ । पिक्सेल एलइडी लाइटलाई निरन्तरता दिइएको छ । हुन्डाईले यसमा प्रयोग भएको मोटर, ब्याट्री साइज, फिचर र क्याविनका विषयमा कुनै जानकारी बाहिर ल्याएको छैन ।
इन्स्टर ईभीमा आधारित रहेर तयार पारिएको इन्स्टेरोइडको मूल्य पनि निकै आकर्षक हुने अनुमान गरिएको छ ।


