८ हजार चार्जिङ साइकल भएको सोडियम ब्याट्रीको उत्पादन सुरु

काठमाडौं । चिनियाँ हाइ भोल्टेज ब्याट्री निर्माता कम्पनी हिनाले सोडियम आयोन ब्याट्रीको ब्यवसायीक उत्पादन थालेको छ । कम्पनीले ८ हजार चार्जिङ साइकल भएको सोडियम ब्याट्रीको उत्पादन थालेको हो ।

कम्पनीले दुई दिन अगाडि मार्च २८ तारिखमा आन्हुई प्रान्तको फुयाङमा आयोजित एक कार्यक्रममा हिना ब्याट्री ‘हाइक्सिङ’ सार्वजनिक गरेको हो । कम्पनीका अनुसार नयाँ सोडियम आयोन ब्याट्री कमर्शियल सवारी साधनको लागि समेत निकै उपयोगी हुनेछ ।

धेरै चार्जिङ साइकल भएको सोडियम आयोन ब्याट्री चार प्रकारमा उपलब्ध हुनेछ । जसमा के-१५०, के-२१०, के-२८० र के-३५० छन् । यो ब्याट्रीमा १६५ किलोवाट केजीको इनर्जी डेन्सीटी रहनेछ । यसलाई २० देखि २५ मिनेटमा फुल चार्ज गर्न सकिने हिनाले दावी गरेको छ ।

तिब्र गतिमा चार्जसँगै यसको पर्फमेन्स पनि उत्कृष्ट रहेको कम्पनीको दावी छ । कम्पनीका अनुसार माइनस ४० डिग्री सेल्सियसदेखि ४५ डिग्री सेल्सियस तातो स्थानमा पनि उक्त ब्याट्रीले राम्रो पर्फमेन्स गर्नेछ ।

हिनाका महाप्रबन्धक ली शुजुनका अनुसार सोडियम आयोन ब्याट्रीले उल्लेखनिय रुपमा लागत कम गर्छ ।

हिनाले विगतदेखि नै सोडियम आयोन ब्याट्री उत्पादन र विकासमा काम गर्दै आएको छ । उसले सन् २०१७ स्थापना भएदेखि नै सोडियम ब्याट्रीमा काम गरेको हो । उसले सन् २०२२ डिसेम्बरमा पहिलो पटक ब्याट्री उत्पादन गरेको थियो ।


Back_to_top