किया मोटर्सको पहिलो भारतीय उत्पादन आज आन्द्र प्रदेशको फ्याक्ट्रीबाट रोल आउट हुदैछ । एक कार्यक्रमकाबीच आन्द्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नाइडु तथा किया मोटर्सका एमडी के सिमले र भारतका लागि साउथ कोरियन राजदुत सिन बोङ्किलले सो पहिलो गाडी सार्वजनिक गर्ने छन् ।
कियाको भारतीय बजारमा उत्पादन सुरुवातसँगै साउथ कोरियाको दास्रो ब्राण्ड भारतीय बजारमा प्रबेश गरेको हो ।
कोरियन अटोमोवाइल जाइन्ट किया मोटर्सले एक वर्षमा नै व्यवसायीक उत्पादन सुरु गर्न सफल भएको हो । किया मोटर्सले सन् २०१७ को अप्रिलमा आन्द्र प्रदेश सरकारसँग नयाँ प्लान्ट लगाउने सम्झौंता गरेको थियो । यसको निर्माण गत वर्षको जनवरीमा सुरुवात भएको थियो ।

कियाको यो ग्रिनफिल्ड प्लान्टको स्थापना गर्नको लागि १२ हजार ९ सय करोड भारतीय रुपैयाँ खर्च भएको छ । यो फ्याक्ट्रीको सुरुवाति उत्पादन क्षमता ३ लाख युनिट प्रतिवर्ष रहेको छ । निकट भविष्यमा बार्षिक ४ लाख युनिट पूर्याइने किया मोटर्सले जनाएको छ । यस फ्याक्ट्रीको उत्पादन ९० प्रतिशत भारतीय बजारमा बिक्री गरिने र १० प्रतिशत निर्यात गरिने कम्पनीले जनाएको छ ।
नेपाली बजारमा किया ब्राण्डका गाडीहरु विगत २५ वर्षदेखि बिक्री वितरण भइरहेको छ । नेपालका लागि किया मोटर्सका आधिकारीक वितरक कन्टीनेन्टल इन्टरप्राईजेजले भारतमा कियाको उत्पादन सुरु गरेसँगै नेपाली बजारमा पनि सोही उत्पादन आउने छ ।
भारतीय बजारमा उत्पादन सुरुभएसँगै नेपाली बजारमा आउने कियाका गाडीको मूल्यमा केही फरक आउन सक्ने छ भने पाटर्सलगायतका अन्य बस्तुको आयात सहज र सस्तो हुनेछ ।


