नयाँ वागेन-आरमा यी ५ फिचर थपिए, कहिले आउला नेपाल ?

मारुती सुजुकी वागेन-आर कम्पनीको चर्चित टलह्याचव्याक कार हो । कम्पनीले यो मोडलको पुरानो मोडल २२ लाखभन्दा बढि युनिट बिक्री गरेको छ । यसअघि दुई पटक परिमार्जन गरिएको वागेन-आर अहिले २०१९ मा थर्ड जेनेरेशनमा सार्वजनिक भएको छ । 

सार्वजनिकसँगै करिब १२ हजार यूनिट बुकिङ भएको यो नयाँ कारलाई कम्पनीले बजारमा आँकलन गरिएभन्दा केही सस्तो मूल्यमा बिक्री वितरण सुरु गरेको छ । जसको शुरुवाती मूल्य ४ लाख १९ हजार भारतीय रुपैयाँ रहेको छ, भने टप भेरियन्टको मूल्य ५ लाख ६९ हजार भारतीय रुपैयाँ तोकिएको छ । 

कम्पनीले अल न्यू वागेन–आरमा धेरै परिवर्तन गरेको छ, यहाँ नयाँ वागेन–आरमा समावेश मूख्य ५ फिचरहरुबारे जानकारी दिने हामीले प्रयास गरेका छौं । 

नयाँ हर्टेक्ट प्लेटफर्म

मारुती सुजुकीले वागेन–आरमा पाँचौँ जेनेरेशनको हर्टेक्ट प्लेटफर्म प्रयोग गरेको छ । कम्पनीले स्वीफ्ट, डिजाएर र बलेनोमा यसअघि नै यो प्लेटफर्मको प्रयोग गरिसकेको छ । नयाँ प्लेटफर्मले वागेन–आरलाई पुरानो मोडलको तुलना तौल कम गर्न सहयोग गर्छ । 

नयाँ १.२ लिटर इन्जिन

नयाँ वागेन–आरमा पुरानो १.० लिटर के–१० इन्जिनसँगै नयाँ १.२ लिटर के सेरीज इन्जिन प्रयोग गरिएको छ । कम्पनीले अन्य कारहरुमा पनि यहि इन्जिन प्रयोग गरेको छ । यसमा दिइएको १.० लिटर इन्जिनले ८२ पीएस पावर र ९० एनएम टर्क उत्पादन गर्छ । 

त्यस्तै, १.२ लिटर इन्जिनले ८२ पीएस पावर र ११३ एनएम टर्क उत्पादन गर्छ । यी दुुवै इन्जिनमा ५ स्पीड म्यानुअल र एएमटी गियरबक्स दिइएको छ । १.० लिटर इन्जिनले २२.५ किलोमिटर प्रतिलिटरको माइलेज दिने र १.२ लिटर इन्जिनले २१.५ किलोमिटर प्रतिलिटर माइलेज दिने कम्पनीले दाबी गरेको छ । 

टप–स्पेक जेडएक्सआई भेरियन्ट

मारुती सुजुकीले वागेन आरसँगै जेडएक्सआई भेरियन्ट पनि सार्वजनिक गरेकोे छ । जुन १.२ लिटर इन्जिनमा उपलब्ध छ । यसको टप स्पेक ट्रिममा म्यानुअल र एएमटी दुवै अप्सन उपलब्ध छ । 

यसमा ७ इन्च टचस्क्रृन इन्फोटेनमेन्ट सिस्टम, ब्लुतुथ, २ स्पीकर, यूएसवी पोर्ट, स्टीरीङ माउन्ट कन्ट्रोल, डियुल एयरब्याग, एबीएस, इबीडी, ,रियर पार्किङ सेन्सर, इलेक्ट्रोनीकल्ली कन्ट्रोल्ड एक्स्टेरियर मिरर, रियर वाइपर तथा डिफोगर उपलब्ध छ । 

एड्भान्स इन्फोटेनमेन्ट सिस्टम

नयाँ वागेन–आरमा कम्पनीले पहिलोपटक ७ इन्चको टचस्क्रृन इन्फोटेनमेन्ट सिस्टम दिएको छ । यसमा भ्वाइस कन्ट्रोल, स्टीरीङ माउन्ट्ड कन्ट्रोल जस्ता फिचर समावेस गरिएको छ । यसको वेस भेरियन्टमा भने टच स्क्रृन उपलब्ध रहेको छैन । 

डायमेन्सन

नयाँ वागेन–आरको लम्बाई ३ हजार ६५५ एमएम रहेको छ भने चौडाई १ हजार ६२० एमएम र उचाई १ हजार ६७५ एमएम रहेको छ । कम्पनीले पहिलेको मोडलको तुलनामा यसको लम्बाई बढाएको छ भने उचाई घटाएको छ । 

यसको ह्वीलबेस २ हजार ४३५ एमएम देखि २ हजार ४०० एमएम रहेको छ । यसमा बुट स्पेस भने ३४१ लिटरको रहेको छ । 

नेपाली बजारमा आगामी मार्चको अन्त्यसम्म आउन सक्ने जनाइएको छ । मारुती सुजुकीका उत्पादन नेपाली बजारमा सिजी मोटो कर्पले बिक्री वितरण गर्दै आएको छ । 


Back_to_top