काठमाडौं । राजनैतिक दलका नेताहरुले पूर्व–पश्चिम रेलका कुराले कुनै समय खुब स्टेज तताए । रेल देख्ने कुरासम्म पनि कल्पना नगरेका कतिपय नेपालीहरुले सम्भवतः त्यतिखेर देखि नै पूर्व–पश्चिम रेल चढ्ने सपना देख्न थालेका हुन् । हरेक नेताहरुले स्टेजमा सुनाउने विषय एउटै थियो, ‘केहि समय पर्खनुस्, पूर्व–पश्चिम रेलमा सररर घुम्न पाईन्छ…’ ।
पूर्वपश्चिम रेलबारे सर्वत्र चासो भैरहेकै समयमा चर्चित गीतकार राजनराज सिवाकोटीले झनै बलिरहेको दियोमा तेल थप्ने काम गरे । केही समय अघि मात्रै उनले पूर्व–पश्चिम रेल, सररर घुम्न लैजाँन्छु भन्दै गीत नै सार्वजनिक गरे । त्यसपछि त झनै पूर्वपश्चिम रेलको चर्चा चुलियो । पछिल्लो समय पूर्वपश्चिम रेल चढ्ने कुरा जोकोहिले पनि कल्पना गर्न थालेका छन् । जनताहरु नेताहरुले भनेकै भरमा भएपनि पूर्वपश्चिम रेलको पर्खाइमा रहेका छन् ।
पूर्वपश्चिम रेलमार्गको कुल लम्बाई भने ९ सय ४५ किलोमिटर रहेको छ ।
सन् २००८ बाट नै पूर्वपश्चिम रेलमार्गको अवधारणा बनाएर काम सुरु भएको थियो । अहिले यो काम धिमागतिमा भनेपनि अघि बढिरहेको छ ।
काम धमाधम
बहुप्रतिक्षित पूर्वपश्चिम रेलमार्गमा अहिले धमाधम काम भैरहेको रेल विभागले बताएको छ । विभागका महानिर्देशक बलराम मिश्रका अनुसार पूर्वपश्चिम रेलमार्गलाई जम्मा नौ खन्डमा विभाजन गरि काम भैरहेको छ ।
जसमा चारखन्ड पश्चिममा पर्छ भने तीनखन्ड पूर्वमा रहेको छ । यसमा सहायक रेलमार्गहरु पनि जोडिनेछ, जुन १ हजार ३७६ किलोमिटर लामो हुनेछ । पूर्वपश्चिम रेलमार्गको कुल लम्बाई भने ९ सय ४५ किलोमिटर रहेको छ ।
राष्ट्रिय महत्वको आयोजनाको रुपमा चित्रण गरिएको पूर्वपश्चिम राजमार्ग पूर्व काँकडभित्ता (झापा) देखि पश्चिममा गड्डाचौकी (कन्चनपुर)सम्म रहनेछ ।
डिपीआरका लागि एक खन्डमात्रै बाँकी
मिश्रकाअनुसार, पूर्वपश्चिम रेलमार्ग अन्तर्गतका सबै खन्डहरुको विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डिपीआर) सम्पन्न भैसकेको छ । बर्दिबासदेखि बुटवलसम्मको २ सय १९ किलोमिटर, बर्दिबासदेखि पूर्व काँकडभित्तासम्मको २ सय ४० किलोमिटर खन्ड, बुटवलदेखि गड्डाचौकीसम्मको ४ सय ६ किलोमिटर खन्ड, सिमरा–बर्दिवास खण्ड, बर्दिवास–तम्सरिया (१ सय २७ किमी), तम्सरिया–बुटवल (६५ किमी), सिमरा–वीरगञ्ज (२८ किमी) र बुटवल–भैरहवा–लुम्बिनी (४४ किमी) खन्ड लगायत सबै रेलमार्गको डिपीआर सम्पन्न भैसकेको छ ।
यद्यपी, चितवनमा पर्ने चितवन राष्ट्रिय निकुञ्जपट्टी रेल नचलाइने भएपनि नवलपरासी सडकखन्डपट्टी सारिएको छ । जुन खन्डमा भर्खरैमात्र फिजीबीलीटी अध्ययन भएको छ । यो खन्डको डिपीआर पनि छिट्टै सकिने महानिर्देशक मिश्रले बताए । विभिन्न विदेशी कम्पनीहरुले पूर्वपश्चिम रेलमार्गको डिपीआर तयार गरेका हुन् ।
कहिले बनिसक्ला रेलमार्ग ?
महानिर्देशक मिश्रले डिपीआर सकिसकेकाले अब तिब्र गतिमा काम हुने बताएका छन् । रेलमार्ग बनाउन निकै जटिल रहेकोले काम ढिलो भएको जस्तो देखिएपनि काम प्रक्रियागत रुपमा भैरहेको उनले बताएका छन् ।
‘रेलमार्गको संरचना निर्माण गर्न निकै महँगो छ । महँगो नै परेपनि बाहिरी देशहरुमा प्रयोग गरिएको प्रविधिहरुजस्तै नयाँ प्रविधिहरु हामीले प्रयोग गर्नुपर्छ । पुरानै प्रविधि प्रयोग गरेर त रेल विकासमा अघि बढ्नै सकिँदैन’
उनी भन्छन्, सबैपक्षको सहयोग पाइएको खन्डमा अबको ५ वर्षभित्रमा यो काम सकिन्छ । उनी भन्छन्, अबको पाँच÷छ वर्षमा त रेलमा साँच्चै सररर… जान सकिन्छ ।
उनले रेलमार्गको डीपीआर तयार गर्नमा नै धेरै समय खर्च भएको बताए । उनले भने, यसको अध्ययन गर्नमा नै समय खर्च भयो, यो स्वभाविक पनि हो । हामीले नविनतम प्रविधिको प्रयोग गरि रेलमार्ग बनाउन लागेका हौं । यसैकारण पनि समय तथा बजेट धेरै खर्च हुन जान्छ, उनले मेरोअटोसँग भने ।
‘रेलमार्गको संरचना निर्माण गर्न निकै महँगो छ । महँगो नै परेपनि बाहिरी देशहरुमा प्रयोग गरिएको प्रविधिहरुजस्तै नयाँ प्रविधिहरु हामीले प्रयोग गर्नुपर्छ । पुरानै प्रविधि प्रयोग गरेर त रेल विकासमा अघि बढ्नै सकिँदैन’ उनले भने ।


