काठमाडौं । बीएमडब्लूको सबैभन्दा सस्तो मोटरसाइकल जी ३१० सिरिजको उत्पादन बन्द भएको छ ।
बीएमडब्लूले भारतमा टीभीएसँगको सहकार्यमा उत्पादन गरेको जी ३१० आर र जी ३१० जीएसको उत्पादन बन्द गरेको हो ।
कम्पनीले अप्रिल २०२५ देखि ओबीडी-२ बी नियम लागू भएसँगै जी ३१० सिरिजको उत्पादन बन्द गर्ने निर्णय गरेको हो ।
कम्पनीले आफ्नो वेबसाइटबाट जी ३१० आर हटाइसकेको छ भने जी ३१० जीएसअझै वेबसाइटमा देख्न सकिन्छ । यसले केही युनिट जी ३१० जीएस स्टक भएको अनुमान गर्न सकिन्छ ।
कम्पनीले नयाँ नियम लागू भएसँगै यसको उत्पादन मूल्य बढ्ने र प्रतिस्पर्धी मोटरसाइकलहरूसँग प्रतिस्पर्धा गर्न नसक्ने भएको कारण उत्पादन बन्द गरेको हो ।
बीएमडब्लूले २०१८ मा टीभीएससँग सहकार्य गर्दै जी ३१० सिरिज सार्वजनिक गरेको थियो । कम्पनीले सबैभन्दा कम मूल्यमा ल्याएको जी ३१० सिरिजले निकै चर्चा समेत पाएको थियो ।
नेपालमा समेत यी दुवै मोटरसाइकल बिक्री हुँदै आएको छ । नेपालमा बीएमडब्लूका मोटरसाइकल हिमालयन मोटार्ड कम्पनीले बिक्री गर्दै आएको छ । कम्पनीले विगत ३ वर्षदेखि नयाँ मोटरसाइकल आयात गर्न सकिरहेको थिएन । भारतमा जनवरी २०२५ देखि यसको उत्पादन बन्द भइसकेको छ ।


