काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल (नाडा)ले आफ्नै संस्थाका सदस्यहरूले खोलेको नयाँ संस्था नेपाल अटोमोबाइल्स इम्पोर्टस एण्ड म्यानुफ्राक्चरर्स एशोसिएसन (नाइमा)को अस्तित्वको स्वीकारेको छ ।
सुरुमा नाडा फुटाएर नाइमा बनाइएको भन्दै नाडाका पदाधिकारीहरूमा नाइमाप्रति असन्तुष्टि देखिएको थियो । तर, अहिले दुवै संस्था एक आपसमा सहकार्य गर्दै अघि बढ्न तयार भएका हुन् ।
आइतबार दुई संस्था बीच अटो क्षेत्रको विकासका लागि सहकार्य गर्ने सम्झौता भएको हो । नाडाका पूर्वध्यक्ष शेखर गोल्छालाई साक्षी राख्दै नाइमाकी अध्यक्ष ऋतुसिंह वैद्य र नाडाका अध्यक्ष करण चौधरीले सहकार्य गर्ने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । ।
उनीहरूले दुवै संस्थाको स्वतन्त्र सहअस्तित्व रहने र नेपालको अटोमोबाइल उद्योगलाई सशक्त बनाउनका लागि सँगसँगै मिले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
‘नेपालको अटोमोबाइल क्षेत्र दिगोपन, नवप्रवर्तन र नीतिगत स्थिरतातर्फ अग्रसर हुँदै गर्दा नाडा र नाइमा दुवै संस्थाहरू व्यवसायीहरूको हक र हितको संरक्षण, उद्योगमैत्री नीति निर्माणमा सहकार्य, तथा समग्र क्षेत्रको प्रगतिमापूर्ण रूपमा प्रतिबद्ध रहने छन,’ सम्झौमा भनिएको छ ।

नाडाका अध्यक्ष चौधरीले नाइमा आधिकारिक रुपमा नाडा फुटेर बनेको नभई छुट्टै उद्देश्यले स्थापना भएको संस्था रहेको बताए । ‘नाइमा आधिकारिक रुपमा नाडा फुटेर बनेको संस्था होइन । यसको उद्देश्य अर्कै छ,’ उनले भने, ‘नाइमामा अटोमोबाइल आयातकर्ता र निर्माताहरू मात्रै हुनुहुन्छ । नाडामा सम्पूर्ण अटो क्षेत्रका व्यवसायी आबद्ध हुनुहुन्छ ।’
फरक उद्देश्यले खुलेको भए पनि एउटै क्षेत्रका संस्था भएकाले अटो क्षेत्रका समस्या समाधन र विकासका लागि सहकार्य गर्दै अघि बढिने उनले बताए । ‘हामी दुवै अटो क्षेत्रका लागि काम गर्ने संस्था हौं, प्रतिस्पर्धी होइनौं । आगामी दिनमा सौहार्द रुपमा मिलेर काम गर्छौं,’ उनले भने ।
अटो शाे आयोजना गर्ने विषयमा भने सहमति भइनसकेको उनले बताए । ‘नाडाले हरेक वर्ष अटो शो गर्दै आएको छ । आगामी वर्ष नाइमाले पनि गर्ने भनेको छ । नाडाको पनि हुन्छ,’ उनले भने, ‘छुट्टाछुट्टै गर्ने कि एउटै गर्ने भन्ने बार छलफल हुन बाँकी छ ।’
नाडा ५ दशक पुरानो पुरानो संस्था हो । यसमा सवारी आयातकर्ता, बिक्रेता, डिलर, पार्टस आयातकर्ता/बिक्रेता लगायत सदस्य छन् ।
नाइमा भने गत महिना मात्रै खुलेको संस्था हो । नाइमाले आगामी वैशाख ४ गतेदेखि आफ्नो औपचारिक शुभारम्भ गर्नेछ । यसमा सवारी आयातकर्ता र उत्पादक मात्र सदस्यको रुपमा छन् । नाइमाले ४ गते नै संस्थाको दृष्टिकोण, प्र्रमुख कार्यक्षेत्रहरू, मध्य तथा दीर्घकालीन योजना, तथा मोबिलिटी सशक्तिकरणका लागि कार्यक्रमहरू सार्वजनिक गर्ने बताएको छ ।


