काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पले विश्वका १८० बढी देशबाट अमेरिकी बजारमा आउने वस्तुहरूमा व्यापक कर वृद्धि गरेसँगै युरोपियन युनियन र चीन बीच वार्ताको प्रयास सुरू भएको छ ।
यद्यपि, उक्त कर वृद्धि चीन बाहेक देशका लागि ९० दिनका लागि स्थगित गरेका छन् ।
यसअघि युरोपियन युनियनले ‘ओभर सब्सिडाइज’ गरेको भन्दै चिनियाँ कारमा ४५ प्रतिशतसम्म अतिरिक्त कर लगाएको थियो । अहिले अमेरिकाले अन्धाधुन्दा कर लगाउन थालेको भन्दै चीन र युरोपियन युनियन बीच वार्ता सुरू भएको बताइन्छ ।
जर्मनीको ह्यान्डल्सब्लाट अखवारलाई उद्धृत गर्दै रोयटर्सले युरोपेली संघ र चीन बीच विद्युतीय सवारी साधनको मूल्य निर्धारण सम्बन्धी विषयमा वार्ता सुरू भएको दाबी गरेको छ ।
युरोपेली संघका प्रवक्ता मारोस सेफकोभिकले चिनियाँ वाणिज्यमन्त्री वाङ वेन्टाओसँग वार्ता गरेका छन् । यी दुईको वार्ता चिनियाँ ईभीहरूको युरोपमा मूल्य निर्धारण सम्बन्धमा केन्द्रीत भएको बताइन्छ । चीनको वाणिज्य मन्त्रालयले पनि मूल्य निर्धारणको काम तुरुन्तै सुरू हुने बताएको छ ।
युरोपमा अतिरिक्त चार्जको बाबजुद चिनियाँ ब्राण्ड बीवाइडी, एसएआइसी र जिली जस्ता ब्राण्डले निकै आक्रमक बजार विस्तार गर्दै आएका छन् ।


