चीनबाट पहिलोपटक सिधै चोभार आइपुग्यो ‘कन्टेनराइज्ड’ सामान, कति दिन लाग्यो ?

काठमाडौं । चीनबाट पहिलो पटक कन्टेनराइज्ड कार्गो (सामान) सिधै चोभारमा सुक्खा बन्दरगाहमा आएको छ ।

चीनको इयु शहरबाट सिधै रेल मार्ग र सडक मार्ग प्रयोग गरी ४ वटा (४० फिटे) कन्टेनर चोभार सुक्खा बन्दरगाह आइपुगेका हुन ।

यसअघि रसुवा र तातोपानी भन्सारमार्फत भन्सार जाँचपासका लागि मालवाहक सवारी साधनहरू चोभार सुक्खा बन्दरगाह आउने गरेका थिए । यस पटक भने सिधै चोभारमै भन्सार जाँचपाँस गर्ने गरी कन्टेनरहरू आएका हुन् ।

ती कन्टेनरहरूलाई चीनको इयुबाट चोभार सुक्खा बन्दरगाहसम्म आइपुग्न २० दिन लागेको थियो । यसअघि चीनबाट सामान ल्याउँदा कम्तीमा १ महिना लाग्ने गरेको थियो ।

नेपाली कम्पनीहरू अम्बर एण्ड सन्स इन्टरप्राइजेज, ओमकार इन्टरनेशनल ट्रेडर्स, पीएनपी इन्टरप्राइजेज र साहिम्स ट्रेडर्सले आयात गरेको रोल कपडा, पर्दा, स्पिकर, कस्मेटिक लगायतका सामान बोकेर चोभार आएका हुन् ।

सरकारले चीनबाट सामान बोकेर आउने कन्टेनरहरू सिधै चोभार सुख्खा बन्दगाहमा आउन पाउने व्यवस्था गरेसँगै कन्टेनरहरू आउन थालेका हुन् । अर्थ मन्त्रालयले गत कात्तिकमा तातोपानी र रसुवा भन्सार कार्यालयबाट आन्तरिक परिवहन गरी चोभार सुक्खा बन्दरगाहमा भन्सार जाँचपास गर्न सक्ने व्यवस्था गरेको थियो । सोही अनुसार उक्त कन्टेनरहरू तातोपानी र रसुवा भन्सारबाट चोभार सुख्खा बन्दरगाह जाने अनुमति लिएर आएका हुन् ।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले चीनबाट रेल मार्ग र सडक मार्ग हुँदै सिधै चोभार बन्दरगाह सामान आउन सुरु भएको बताए । आगामी दिनमा यो क्रम झनै बढ्दै जाने उनले बताए ।

उनका अनुसार अब चोभार सुक्खा बन्दरगाह मार्फत सिधै चीनबाट सामान आयात र निर्यात गर्न सकिनेछ । यसअघि नेपालबाट निर्यात हुने सामान तातोपानी र रसुवा भन्सारबाट मात्रै चीन लगिँदै आइएको थियो । नेपालबाट निर्यात हुने वस्तुको सबै भन्सार प्रक्रिया चोभार बन्दरगाहबाटै पूरा गरी सामान लैजान सकिने गजुरेलको भनाइ छ ।

काठमाडौं आसपासमा उत्पादित वस्तुहरू अब चोभारबाटै भारत, चीन लगायत अन्य मुलुकहरू निर्यात गर्न सकिन्छ । यस व्यवस्थाले वस्तु उत्पादन गरी निर्यात गर्न व्यवसायीहरू उत्साही हुने उनको विश्वास छ।


Back_to_top