मुग्लिन-पोखरा सडकमा सवारीको गति तोकियो, कति स्पीडमा चलाउन पाइन्छ ?

काठमाडौं । मुग्लिन-पोखरा सडकमा सवारी साधनको गति तोकिएको छ । हाल चार लेनमा निर्माणको अन्तिम चरणमा पुगेको सडकमा दुर्घटान न्यूनीकरणका लागि सवारीको गति तोकिएको हो ।

सडक विभागका अनुसार पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन-पोखरा सडकमा प्रतिघण्टा ६० किलोमिटरभन्दा बढीको गतिमा सवारी साधन चलाउन पाइने छैन ।

सडक फराकिलो भए पनि घुमाउरो र सयौं घुम्तीहरू रहेका कारण प्रतिघण्टा गति ६० मात्र तोकिएको विभागको भनाइ छ । यस व्यवस्थाले दुर्घटना न्यूनीकरणमा सहयोग पुर्याउने विभागको विश्वास छ ।

त्यस्तै, राजमार्गमा हरेक ५०० मिटरमा जेब्रा क्रसिङ भएका कारण सर्भे गर्दा नै यहाँको स्पीड लिमिट प्रतिघण्टा ६० किलोमिटर तोकिएको थियो । तोकिएको गतिभन्दा बढीमा सवारी चलाएमा ट्राफिक प्रहरीले जरिवाना तिराउने छ ।

गति तोकिएसँगै राजमार्गमा स्पीड लिमिटको संकेत राख्ने काम पनि भइरहेको छ । साथै, सडकमा सेतो र पहेँलो रङले लेन मार्किङको काम पनि भइरहेको मुग्लिन पोखरा सडक आयोजनाले जनाएको छ ।

८० किलोमिटर लोमो मुग्लिन-पोखरा सडकलाई हाल ४ र सहरी क्षेत्रमा ६ लेनमा स्तरोन्नति भइरहेको छ । दुई खण्डमा ठेक्का लगाई विस्तार भइरहेको यो सडक निर्माणको अन्तिम चरणमा पुगेको छ ।

पूर्वीखण्ड (आँबुखैरेनी-जामुने) ४१.४५ किलोमिटरको काम ८५ प्रतिशत बढी काम सकिएको छ । यस खण्डमा अब २ किमी सडक मात्र कालोपत्र गर्न बाँकी छ । आगामी असार भित्रै सबै काम सक्ने लक्ष्य राखिएको छ । यसखण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा पाएको छ ।

त्यस्तै, ३८.८८ किमी दूरीको पश्चिम खण्ड (जामुने-पोखराको भौतिक प्रगति ५५ प्रतिशत पुगेको आयोजनाले जनाएको छ । २० किमी सडक ४ लेनमा कालोपत्र भइसकेको छ ।

यो खण्डको ठेक्का चिनियाँ कम्पनी यनहुई काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले ७ अर्ब ४० करोड ४६ लाख रुपैयाँमा पाएको छ । पछिल्लो पटक थपिएको म्याद अनुसार २०८२ पुससम्म काम सक्नुपर्नेछ ।


Back_to_top