काठमाडौं । गण्डकी प्रदेश सरकारले हालै जारी गरेको गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२’ एक महिनाका लागि स्थगित गर्ने निर्णय गरेको छ ।
मंगलबार साँझ मुख्यमन्त्री कार्यालयमा बसेको मुख्यमन्त्री सहित सरोकारवालाहरूको बैठकले उक्त नियमावली १ महिनाका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
गण्डकी प्रदेशले राइड सेयरिङ नियमावली कार्यान्वयनमा ल्याएपछि यातायात व्यवसायीले सोमबारदेखि देशव्यापी यातायात बन्द गरेका थिए ।
त्यसपछि, सोमबार राति केन्द्र सरकार र यातायात व्यवसायी बीच तत्कालका लागि राइड सेयरिङ नियमावली रोक्न प्रदेश सरकारलाई आग्रह गर्ने सहमति भएको थियो । सोही अनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज गण्डकी प्रदेश सरकारलाई राइड सेयरिङ नियमावली स्थगित गर्न भन्दै पत्र पठाएको थियो ।
सोही पत्रको आग्रह स्वीकार्दै प्रदेश सरकारले १ महिनाका लागि नियमावली स्थगन गर्ने निर्णय गरेको हो ।
‘भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय, गण्डकी प्रदेशबाट गठन भएको वार्ता समितिले सरोकारवाला पक्षलाई वार्ताका लागि पुनस् आह्वान गरी वार्ता सम्पन्न गर्न एक महिनाको अवधि तोक्ने र उल्लिखित अवधिभर गण्डकी प्रदेश राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली, २०८२ बमोजिमका राइड सेयरिङ सम्बन्धी प्रावधानको कार्यान्वयन गर्ने कार्य प्रक्रिया स्थगन गर्ने भनी निर्णय भएको व्यहोरा जानकारीका लागि सबैमा अनुरोध छ,’ बैठकपछि मुख्यमन्त्री कार्यालयले सार्वजनिक गरेको निर्णयमा भनिएको छ ।

