काठमाडौं । एशियाबाट उत्तर अमेरिका जाँदै गरेको पानी जहाजमा आगलागी भएको छ । उक्त जहाजमा करिब ३ हजार कार रहेको शिपिङ कम्पनीले जनाएको छ ।
मर्निङ मिडास नामक पानी जहाज मे २६ तारिखमा चीनबाट मेक्सिकोको लागि हिँडेको थियो । उक्त जहाजमा ८०० न्यू इनर्जी भेहिकल र बाँकी पेट्रोलियम पदार्थबाट चल्ने कारहरू रहेको बताइएको छ ।
यात्रा सुरू गरेको ८ दिनपछि पानी जहाजको एउटा कम्पार्टमेन्टमा आगलागी सुरू भएर धुवाँ बाहिर निस्केको थियो । करिब १९ दिनमा गन्तव्यमा पुग्नु पर्ने उक्त कार्गो जहाज जुन ३ तारिखको मध्यरातमा दुर्घटनामा परेको हो ।
बेलायती कम्पनीको उक्त जहाजका मालिक जोडियाक मेरिटाइमले आगलागीको घटना पुष्टि गरेको थियो । जहाजमा धुँवा निस्किएपछि चालक दलका सदस्यहरूले आगो निभाउन निकै प्रयास गरेको र नसकेपछि लाइफ बोटमा हामफालेका थिए ।
चालक दलका सदस्यहरूले आगो निभाउन सक्दो प्रयास गरेपछि पनि सम्भव नभएको कारण अमेरिकी तटरक्षक दललाई सम्पर्क गरेर जहाज छोड्ने निर्णय गरेका थिए । उनीहरूलाई पछि व्यवसायिक जहाजले रेस्क्यू गरेको थियो ।

