काठमाडौं । नेपाली बजारमा हेल्मेटको भाउ महँगिने भएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट कार्यान्वयनका लागि ल्याएको आर्थिक विधेयकमा हेल्मेटमा लाग्ने भन्सार शुल्क बढाइएसँगै बजार मूल्य पनि बढ्ने भएको हो ।
विधेयकमार्फत दुईपाँग्रे सवारी साधन (मोटरसाइकल/स्कुटर) प्रयोगकर्ता र निर्माण क्षेत्रका जनशक्तिले लगाउने हेल्मेटको भन्सारदर ५ प्रतिशत बिन्दुले बढाइएको हो ।
जेठ १४ गतेसम्म हेल्मेटमा १५ प्रतिशत भन्सार शुल्क लाग्दै आएकोमा १६ गतेदेखि २० प्रतिशत लागू भएको हो । तर, पर्यटन विभागको सिफारिसमा र्याफ्टिङ सेवा सञ्चालन गर्ने व्यवसायीले पहिलोपटक व्यवसाय संचालनका लागि १०० थानसम्म हेल्मेट ल्याउँदा भने ५ प्रतिशत मात्रै भन्सार महसुल लाग्ने छ ।
हेल्मेट्स नेपालका सीईओ सजल जोशीले बजेटमा बढाइएको करको प्रभाव तत्कालै परिनहाल्ने बताए । अहिले बजारमा बजेटअघि नै आयात गरिएका हेल्मेट बिक्री भइरहकाले मूल्य बढिनहाल्ने उनले बताए । तर, हाल स्कट हेल्मेट बिक्री भइसकेपछि आयात गरिने नयाँ हेल्मेट भने महँगिने उनको भनाइ छ ।
‘बजेटमा कर बढाइए पनि बजारमा हेल्मेटको मूल्य बढिहाल्ने देखिँदैन । व्यवसायीसँग बजेट अघि नै ल्याएका केही हेल्मेट स्टक छन् । सम्भवतः चालु आवसम्म स्टक हेल्मेटले नै धान्छ होला,’ उनले मेरोअटोसँग भने, ‘अब नयाँ आयात गरिने हेल्मेट भने महँगिन्छ ।’
व्यापारीहरूका अनुसार बढाइएको भन्सार दरले सस्तो मूल्यका (बजेट) हेल्मेटको मूल्य खासै बढ्दैन । तर, प्रिमियम हेल्मेट भने महँगिने उनीहरू बताउँछन् ।
‘हाल बजारमा बिक्री हुने ५ हजारभन्दा कम मूल्यका हेल्मेटको मूल्य खासै बढ्दैन,’ अर्का एक व्यापारीले भने, ‘तर, ५ हजार बढीका प्रिमियम हेल्मेटको भाउ भने करिब १० प्रतिशतसम्म बढ्न सक्ने देखिन्छ ।’
नेपालमा वार्षिक झण्डै १ अर्बको हेल्मेट आयात हुन्छ । चालु आवको १० महिनामा ६७ करोड ३९ लाख रुपैयाँ बराबरको ६१ लाख ९१ हजार थान हेल्मेट आयात भएको भन्सार विभागको तथ्यांक छ ।
सरकारले यस वर्ष विद्युतीय डबल क्याब पिकअप बाहेक अरु सैब सवारी साधनको करकाे दर थयावत राखेको थियो ।


