काठमाडौं । लगानी बोर्ड नेपालको ६४औँ बैठकले विश्वकै लामो मुक्तिनाथ केबलकार परियोजनाको लगानी स्वीकृति गरेको छ ।
प्रधानमन्त्री एवं बोर्डका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बिहीबार प्रधानमन्त्री निवास, बालुुवाटारमा बसेको बैठकले परियोजनाको लगानी स्वीकृत गरेको हो ।
पर्वतको सेराफाँट (वीरेठाँटी/नयाँ पुल)देखि मुस्ताङको मुक्तिनाथसम्म सात स्थानमा स्टेशनसहित ८१.०४१ किलोमिटरको लामो केबलकार निर्माणका लागि लगानी स्वीकृत गरेको हो ।
५७ अर्ब ६४ करोड ३७ लाख लागत रहने उक्त परियोजना निर्माण, स्वामित्व, सञ्चालन र हस्तान्तरण ‘बूट’ (बिल्ड, ओन, अपरेट, ट्रान्सफर) ढाँचामा मुक्तिनाथ दर्शन प्रालिले निर्माण गर्न प्रस्ताव गरेको थियो ।
बैठकले उक्त प्रालिसँग परियोजना विकासको सम्झौताको शर्त आदि विषयमा वार्ता गर्न बोर्डका प्रमुख कार्यकारी निर्देशक सुशील ज्ञवालीको संयोजकत्वमा समिति गठन गरेको छ । उक्त केबलकार सञ्चालनमा आएमा स्थानीयस्तरमा ठूलो मात्रामा पर्यटक र रोजगारी वृद्धि हुने अपेक्षा गरिएको छ ।
डीपीआर अनुसार केबलकारमा कुल १९ वटा स्टेशन हुनेछन् । प्रत्येक स्टेसनमा रिसोर्ट बनाउने कम्पनीको योजना छ । ११ वटा स्टेशनमा बास बसेर जान पाइने व्यवस्था हुनेछ भने ८ स्टेशनमा अनिवार्य ओर्लिनुपर्ने छ । ५ स्टेशनमा अत्यावश्यक भएमात्र ओर्लिन पाइने व्यवस्था गरिने छ । केबलकार विरेठाँटी, घोडेपानी, तातोपानी, लेते, कोवाङ, टुकुचे, मार्फा हुँदै मुक्तिनाथ पुग्नेछ ।
केबलकारमा ७७६ वटा गोन्डोला राख्ने प्रस्ताव गरिएको छ । उक्त केलबार निर्माणपछि वार्षिक ३६ लाखले यात्र गर्ने कम्पनीको अनुमान छ ।

