सस्तो कार किन्ने ग्राहक पाउनै मुस्किल, यस्तो छ आयात

काठमाडौं । सस्तो र साना कार किन्ने ग्राहक निकै न्यून देखिएका छन् । विश्वकै अटोमोबाइलको बलियो देश मानिने जापानमा सर्वाधिक रुचाइने मिनी कार नेपालमा भने धेरैको चासोमै पर्दैन ।

बजेट अगाडिको ४५ दिनमै ५ हजार ३०० युनिट विद्युतीय कार आयात भएकोमा मिनी कारको आयात केबल १५५ युनिट भएको देखिन्छ । साना विद्युतीय कारमा प्रतिस्पर्धा भएर गाडी नआएको होइन । किन्ने प्रयोगकर्ता नै कम भएर कम्पनीहरूले थोरै मगाएका हुन् ।

सन् २०२५ को जनवरीदेखि मे महिनासम्ममा केबल ३०९ युनिट मिनी कार आयात भएको छ । अंग्रजी नयाँ वर्षको पहिलो ५ महिनामा आयात भएको मिनी कारलाई संख्यात्मक रूपमा धेरै मान्नै सकिँदैन । आयात भएका कार मोडल भने १३ वटा छन् ।

मिनी कारको आयात तथ्यांकको आधारमा २/३ मोडल बाहेक अन्यले बजारमा खासै राम्रो व्यापार गर्न सकेको देखिँदैन । अघिल्लो वर्ष लिडर रहेको एमजी कोमेटको आयातमा गिरावट आएको छ । त्यसैगरी, विलिङ एयर मिनी ईभीले पनि सोचे जस्तो व्यापार गर्न सकेको छैन ।

सन् २०२५ मा केईको इक्युट मोडल अगाडि देखिएको छ । दुई आधिकारिक बिक्रेता रहेको केईले ५ महिनाको अवधिमा १३१ युनिट मिनी कार ल्याएको छ । केई इक्युट दुई फरक लेआउटमा उपलब्ध छ । कम्पनीले यसलाई दुई ढोका र चार ढोका दुवै अप्सनमा ल्याएको हो ।


अहिले केईको मिनी कार बजारमा निकै रुचाइको छ । अझ इक्युट-०४ नामबाट बिक्री हुने चार ढोका भएको मोडल धेरैको रोजाइमा पर्दै आएको देखिन्छ ।

अघिल्ला वर्षको तुलनामा कमजोर भए पनि दोस्रो धेरै आयात कोमेट ईभी नै भएको छ । कम्पनीले ५ महिनामा कोमेट ईभी ४५ युनिट आयात गरेको देखिन्छ ।

बीएडब्लू ब्राण्डमा आउने ब्रम्बी ईभी पनि ३८ युनिट आयात भएको छ । यसका अलावा हेनरी भोल्टस् ३७ युनिट, सेरेस मिनी २० युनिट आयात भएको देखिन्छ । अन्य ब्राण्डका विभिन्न साना विद्युतीय मिनी कार पनि ३८ युनिट आयात भएको भन्सार तथ्यांकमा उल्लेख छ ।

कम मूल्यमा कार खोज्नेलाई मध्यनजर गर्दै बजारमा आएका यस्ता साना कारको व्यापार सोचेजस्तो राम्रो भने छैन ।


Back_to_top